हुथी नियन्त्रित १५ वटा अखडामा अमेरिकी सेनाको आक्रमण

सफल खबर संवाददाता

शनिबार, १९ असोज २०८१, १६ : २०
हुथी नियन्त्रित १५ वटा अखडामा अमेरिकी सेनाको आक्रमण

काठमाडौं।  वासिङ्टन– अमेरिकी सेनाले शुक्रबार यमनको हुथी नियन्त्रित क्षेत्रको १५ वटा अखडामा आक्रमण गरेको बताएको छ । यमनका चार प्रान्तमा आक्रमण भएको इरान समर्थित अल मसीरा टेलिभिजन नेटवर्कले जनाएको छ । 

हुथीहरूको जहाज आक्रमण गर्ने क्षमतालाई रोक्ने उद्देश्यले संयुक्त राज्य अमेरिका र बेलायतले बारम्बार आक्रमणहरू गरिरहेका छन् । तर लाल सागर र एडनको खाडी पार गर्ने व्यापारिक जहाजमा विद्रोहीको आक्रमण जारी छ ।

मध्यपूर्वमा अमेरिकी सेनाका लागि जिम्मेवार सैन्य कमान्डले सामाजिक सञ्जालमा भनेको छ, ‘अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) सेनाले शनिवार यमनको हुथी नियन्त्रित क्षेत्रका १५ वटा अखडामा आक्रमण गरेको छ ।’

यी लक्ष्यमा हुथी आक्रामक सैन्य क्षमताहरू रहेको सेन्टकमले बताएको छ । ‘नेभिगेसन स्वतन्त्रताको रक्षा गर्न र अन्तर्राष्ट्रिय जललाई अमेरिका, गठबन्धन र व्यापारिक जहाजका लागि सुरक्षित बनाउनका लागि यो आक्रमण गरिएको हो,’ उसले भनेको छ । 

हुथी समूहले गाजायुद्धको समयमा प्यालेस्टिनीसँग एकताको सङ्केत गर्ने उद्देश्यले नोभेम्बरदेखि नै विश्वव्यापी रूपमा महत्त्वपूर्ण जलमार्गमा समुद्री यातायातमा बाधा पुर्याउने लक्ष्यले इजरायलसँग जोडिएका जहाजमा आक्रमण गर्दै आएका छन् । 

हुथी आक्रमणको जवाफमा इजरायलले पनि यमनमा आक्रमण गरेको छ । विद्रोहीहरूले इजरायलको बेन गुरियन विमानस्थलमा आक्रमण गरेको बदलामा गत महिना होदेइडामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको थियो । 
 

प्रतिक्रिया दिनुहोस