महोत्तरी । मुटु कमाउने जाडोबीच लुगा नभएर कष्ट झेल्दै आएका महोत्तरीको मटिहानी–४ र ९ का दलित परिवारले नेपाली सेनाको सहयोगले न्यानो ओढ्ने पाएका छन् ।
दुवै बस्तीका एक सय २३ परिवारलाई सेनाको परिकौली (महोत्तरी)स्थित गोरखनाथ गणले ओढ्ने मण्डी (ऊनी कम्बल) शनिबार वितरण गरेको हो । शीतलहरको यो राहत पाउने उनीहरू अतिविपन्न मुसहर र डोम समुदायका परिवार हुन् ।
मटिहानी–८ स्थित श्रीराम माध्यमिक विद्यालय परिसरमा आयोजित कार्यक्रममा गोरखनाथ गणका गणपति प्रमुख सेनानी विनोदविकास पाठक, मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डल र जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले सेनाप्रदत्त कम्बल मुसहर र डोम परिवारलाई प्रदान गरे ।
नेपाली सेनाले प्रत्येक वर्षजसो शीतलहर प्रभावित बस्तीका अतिविपन्न परिवारलाई कम्बल वितरण, चोकचोकमा आगो बाल्ने र बटुवालाई तातो चिया खुवाउने कार्य गर्दै आएको छ । जनताको दुःखमा एकाकार हुन गरिब बस्तीमा कम्बल वितरण गरिएको गणपति प्रमुख सेनानी पाठकको भनाइ छ ।
सेनाले जाडोमा सहयोगका लागि अतिविपन्न बस्तीका दलित परिवार छानेर प्रशंसनीय कार्य गरेको मटिहानी नगरप्रमुख मण्डलले बताए । शीतलहर प्रभावितलाई न्यानो वितरण गर्ने समारोहमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकृत, नगरका जनप्रतिनिधि र सामाजिक संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।
महोत्तरीका सुदूरदक्षिण र मध्यभेगमा पुस तेस्रो साता शुरू भएदेखि नै बाक्लो हुस्सुले ढाकेर चिसो स्याँठ बहने क्रमले सर्वसाधारण अत्यन्त कष्टकर अवस्थामा छन् । यो अवस्थामा सेनाले सराहनीय कार्य गरेको मटिहानी–७ का ९० वर्षीय विन्देश्वरीप्रसाद मण्डल बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ पुस २०८१, ०८ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली सेनामा भर्ना खुल्यो (सूचनासहित)
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
हुथी नियन्त्रित १५ वटा अखडामा अमेरिकी सेनाको आक्रमण
नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास सुरु
दामोदरकुण्ड पुगेर बिरामी परेकी सांसदलाई सेनाले डोकोमा बोकेर ल्यायो जोमसोम
भारतको नयाँ सेना प्रमुखमा द्विवेदी नियुक्त