मधेस प्रदेशमा सरकार बनाउन कांग्रेसले बढायो दबाब, देउवालाई ध्यानाकर्षणपत्र

सफल खबर संवाददाता

बुधबार, ०९ असोज २०८१, १६ : २७
मधेस प्रदेशमा सरकार बनाउन कांग्रेसले बढायो दबाब, देउवालाई ध्यानाकर्षणपत्र

वीरगन्ज । मधेस प्रदेशमा आफ्नो नेतृत्वमा सरकार बनाउन नेपाली कांग्रेस मधेस प्रदेशले दबाब बढाउन थालेको छ । केन्द्रीय गठबन्धन अनुसार मधेसमा सरकार बनेको सय दिन क्रस गरेलगत्तै कांग्रेस मधेस प्रदेशले आफ्नो नेतृत्वमा सरकार बनाउन दबाब बढाउन थालेको हो ।

मधेस कांग्रेसका नेताहरुले वीरगन्ज आइपुगेका कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाट गर्दै प्रदेश सरकारको नेतृत्व लिनका लागि पहल गर्न ध्यानाकर्षण गराएका प्रचारप्रसार विभागले जनाएको छ । वीरगन्जस्थित होटल दियालोमा सभापति देउवासँग प्रदेश कार्यसमितिले भेटवार्ता गरेको थियो ।

मधेस कांग्रेसका सभापति कृष्ण यादवले ध्यानाकर्षण पत्र बुझाउँदै सरकारको नेतृत्व लिनका लागि पहल गर्न माग गरेका हुन् ।ध्यानाकर्षण पत्रमा लेखिएको छ, ‘नेपाली कांग्रेसको सांगठनिक वा सरकार निर्माण सङ्ख्यात्मक भूमिकामा मधेस प्रदेशको योगदान महत्त्वपूर्ण रहेको यहाँलाई अवगतै छ, मुलुक सङ्घीयतामा प्रवेश पश्चात् यसको महत्त्व अझै वृद्धि हुँदै गएको छ ।

मुलुक सङ्घीयतामा प्रवेश पश्चात् संवैधानिक निर्वाचन प्रणालीका कारण गठबन्धनबाट मात्र सरकार निर्माण हुने अवस्था छ । सङ्घीय सरकार र विभिन्न प्रदेशहरूको सरकारको नेतृत्व गर्ने अवसर सभापति ज्यूकै सबल नेतृत्वका कारण कांग्रेसले प्राप्त गरिरहेको अवगत नै छ ।

मधेस प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार निर्माण गर्ने विषय अहिलेसम्म प्राथमिकतामा नपरेका कारण कांग्रेसका मतदाताहरूमा निराशा बढ्दै गएको प्रदेश कार्य समितिको ठहर छ ।

ध्यानाकर्षण पत्रमा भनिएको छ– ‘यही ठहरलाई मध्यनजर गर्दै प्रदेश कार्यसमितिको असोज ७ गते बैठक बस्यो, जसमा सभापतिसमक्ष मधेस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वमा सरकार निर्माणमा प्राथमिकताका साथ पहल र अवसरका लागि ध्यानाकर्षण गराउने भन्ने निर्णय भयो । जसअनुरूप यसतर्फ सिङ्गो पार्टी र सभापतिको गम्भीर ध्यानाकर्षणको लागि हार्दिक अनुरोध गरिन्छ ।’

प्रतिक्रिया दिनुहोस