हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले उद्योग सञ्चालन विना रोजगारी सिर्जना हुन नसक्ने बताएका छन् । बढ्दो बेरोजगारीको दर घटाउन र युवा पलायन रोक्न रोजगारीका अवसर सिर्जना गर्न अनिवार्य रहेकाले उद्योग कलकारखाना सञ्चालन गर्नुपर्ने उनले बताएका हुन् ।
बुधबार हेटौंडामा आयोजित बागमती प्रदेश उद्योग परिसंंघको तेस्रो साधारण सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले वर्तमान अवस्थामा सरकारले मात्रै रोजगारी दिने अवस्था नरहेको बताए ।
उनले निजी क्षेत्रसँग समन्वय गर्नुपर्ने आवश्यकता रहेको बताए । सरकार र निजी क्षेत्रबिच समन्वय नभएसम्म उद्योग सञ्चालन हुन नसक्ने र रोजगारी पनि सिर्जना नहुने उनको भनाई छ ।
‘रोजगारी सिर्जना गर्ने पहिलो उपाय भनेको उद्योग सञ्चालन हो । अहिले कुनै पनि क्षेत्रबाट उद्योगलाई सर्पोट भएको देखिँदैन । त्यसैले नेपाली लगानीकर्ताहरू पनि बढी विदेशमा पुगेका छन्,’ उनले भने, ‘उद्योग कलकारखानामा लगानी कसरी भित्र्याउने भन्ने विषयमा सबैले सहकार्य गर्नुपर्छ । सरकारले उद्योग र उद्योगीको संरक्षण र संवर्द्धनमा गर्नुपर्ने भूमिकाका बारेमा छलफल र अनुसन्धानको विषय बन्नुपर्छ ।
लगानीकर्ता निरुत्साहित गर्ने प्रकृतिको ऐन कानुन परिमार्जन गर्न जरुरी रहेको उनले औँल्याए । उनका अनुसार उद्योग क्षेत्रको विकासका लागि तीनै तहको सरकारको अधिकारका बारेमा स्पष्ट हुन जरुरी हुन्छ ।
प्रदेशमा औद्योगिक क्षेत्र र उद्योगका विषयहरूको अधिकार नरहेको उनको भनाई छ । मुख्यमन्त्री लामाले देशमा ठुला अन्तर्राष्ट्रिय कम्पनीहरू ल्याउन वातावरण बनाउन नसकिरहेको बताए ।
यस्तै कार्यक्रममा प्रदेशकी उद्योग वाणिज्य मन्त्री सुकमाया तामाङले लोकल मदिरालाई ब्राण्डिङ गर्ने गरी उद्योग स्थापना हुनुपर्ने बताइन् । लोकल मदिरालाई ब्राण्डिङ गर्ने योजना कार्यान्वयन गर्न संघ सरकारसँग वृहत् छलफल भइरहेको उनले बताइन् । उद्योग सञ्चालन गर्ने अधिकार प्रदेशमा हुनुपर्ने उनको भनाई छ ।
यस्तै कार्यक्रममा नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष विरेन्द्रराज पाण्डेले औद्योगिक विकासले देशको आर्थिक अवस्था सुदृढ हुनसक्ने बताए । उक्त विषयमा सबै जानकार भएपनि नीतिगत र कार्ययोजनामा तीनै तहको सरकारको प्राथमिकता पर्न नसकेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ असोज २०८१, १५ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बनेको छः मुख्यमन्त्री लामा
उद्योग सञ्चालनको उपयुक्त वातावरण बनाउन जरुरी छः मुख्यमन्त्री लामा
मुख्यमन्त्री लामाद्वारा नीति आयोगका अध्यक्ष नेपालसँग करार सम्झौता
मुख्यमन्त्री लामाले १५ गते विश्वासको मत लिने