डेडिकेटेड र ट्रंकलाइन बक्यौताबारे निर्णयमा पुग्न लेखा समितिद्वारा बैठक आह्वान

रासस

शुक्रबार, ०७ भदौ २०८१, २० : १४
डेडिकेटेड र ट्रंकलाइन बक्यौताबारे निर्णयमा पुग्न लेखा समितिद्वारा बैठक आह्वान

काठमाडौँ । डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादबारे निर्णयमा पुग्न प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठक आह्वान भएको छ ।

समिति सचिवालयका अनुसार आगामी आइतबार दिउँसो एक बजे बैठक बोलाइएको छ । उक्त बैठकबाट निर्णय लिन यसअघि समिति सभापति ऋषिकेश पोखरेलसहित समितिका सदस्यहरूले अनौपचारिक छलफल गरेका छन् ।छलफलका आधारमा ‘विद्युत् प्रसारणसँग सम्बन्धित विद्युतको पूर्वाधार लगायतका विषयमा उठेका प्रश्नहरूबारे अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने र यो विषयमा जिम्मेवार अधिकारीलाई स्पष्टीकरण सोध्न सरकारलाई निर्देशन दिने’ तय भएको छ ।

‘विद्युत् महसुल उठाउन बाँकी उद्योगहरूसँग प्रमाणका आधारमा अगाडि बढ्न समेत सरकारलाई सुझाव दिने’ समितिको तयारी छ । प्रारम्भिक विषयहरू तय गरिएको भएता पनि समितिको बैठक बसेरै ठोस निर्णय पुगिने समिति सदस्यहरूले बताएका छन् ।

यसअघि समितिले नेपाल विद्युत् प्राधिकरणका पदाधिकारीहरू र उद्योगीहरूसँग समेत छलफल गरेको थियो । छलफलपछि गत साउन १८ गते सार्वजनिक लेखा समितिले विद्युत् प्राधिकरणसँग डेडिकेटेड फिडर र ट्रंकलाइनबाट उद्योगहरूमा आपूर्ति गरेको बिजुलीको टीओडी मिटरको डाटा माग गरेको थियो ।

विद्युत् प्राधिकरणबाट प्राप्त टिओडी मिटरको डाटाको अध्ययन समेतका आधारमा निष्कर्षमा पुग्न लागिएको समिति सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस