काँग्रेसका मन्त्रीले महिनामा दुईपटक पार्टीसँग बैठक गर्ने निर्णय

सफल खबर संवाददाता

आइतबार, ०२ भदौ २०८१, १२ : ३४
काँग्रेसका मन्त्रीले महिनामा दुईपटक पार्टीसँग बैठक गर्ने निर्णय

काठमाडौँ । नेपाली काँग्रेसले पार्टीबाट मन्त्री बनेकाहरूसँग महिनाको दुईपटक छलफल गर्ने भएको छ । दुई राज्यमन्त्री सहित काँग्रेसका १२ मन्त्री छन् ।केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा काँग्रेस सहभागी भएपछि शनिबार पहिलो पटक पार्टीबाट मन्त्री बनेकाहरूसँग छलफल गरिएको छ ।

सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा शनिबार साँझ ५ बजेदेखि राति १० बजेसम्म छलफल भएको थियो । बैठकमा दुई उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापा पनि पार्टीबाट सहभागी थिए । देउवा निवासमा काँग्रेसबाट मन्त्री र राज्यमन्त्री सबै पुगेका थिए ।

पार्टी र मन्त्रीहरूको समन्वय बढाउनका लागि छलफल भएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी गराए । हरेक १५ दिनमा एक पटक पार्टी र मन्त्रीको छलफल गर्ने निर्णय भएको छ ।

काँग्रेसबाट मन्त्री हुनेहरूमा उपप्रधानसहित सहरी विकास प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री आरजु राणा, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल, कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्का र वन तथा वातावरण ऐनबहादुर शाही छन् ।

दुई राज्यमन्त्रीमा रुपा विक र पूर्णबहादुर तामाङ छन् । विकले वन तथा वातावरण र तामाङले ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।

प्रतिक्रिया दिनुहोस