रुसको कुर्स्क क्षेत्रमा युक्रेनी सेनाको अर्को ठूलो हमला, विशेष पुल ध्वस्त

एजेन्सी

शनिबार, ०१ भदौ २०८१, १० : १४
रुसको कुर्स्क क्षेत्रमा युक्रेनी सेनाको अर्को ठूलो हमला, विशेष पुल ध्वस्त

एजेन्सी । रुसको कुर्स्क क्षेत्रमा आक्रमण जारी राख्दै युक्रेनले सेम नदीमा रहेको पुल भत्काइदिएको छ।

रुसी अधिकारीहरूलाई उद्धृत गर्दै यस हमलामा ग्लुसकोवो सहरनजिकै युक्रेनी सेनाको यो कारबाहीका कारण सहरको एक भाग अन्य स्थानबाट सम्पर्क विच्छेद भएको बताइएको छ।

बीबीसीका अनुसार युक्रेनी सेनाले भत्काएको उक्त पुल रुसी सैनिकलाई अत्यावश्यक सामान आपूर्ति गर्न प्रयोग भइरहेको थियो। तर अहिले पुल भत्किएपछि यो अवरुद्ध हुन सक्छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना सैनिकले कुर्स्कमा आफ्नो स्थिति बलियो बनाउँदै लगेको बताएका छन्।

जेलेन्स्कीका अनुसार कुर्स्क क्षेत्रको बदलामा युक्रेनले रुसलाई युक्रेनी भूभागमाथिको आफ्नो कब्जा त्याग्न पनि माग गर्न सक्छ।

यसअघि युक्रेनका शीर्ष कमान्डर ओलेक्जेन्डर सिर्स्कीले युक्रेनी सेनाले रुसको कुर्स्क क्षेत्रमा आफ्नो सैन्य कार्यालय स्थापना गरेको बताएका थिए।

उनका अनुसार सेनाले यस कार्यालयबाट रुसमा हमला जारी राखेको छ। सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडिओमा जनरल सिर्स्कीले युक्रेनको नियन्त्रणमा रहेको क्षेत्रमा यो कार्यालय बनाइएको बताएका छन्।

युक्रेनको यो कदमप्रति प्रतिक्रिया दिँदै रुसी रक्षामन्त्री आन्द्रेई बेलोसोभले कुर्स्क क्षेत्रका जनताको सुरक्षाका लागि आवश्यक कदम चाल्ने चेतावनी दिएका छन्।

जनरल सिर्स्कीका अनुसार युक्रेनी सेना कुर्स्क क्षेत्रमा ३५ किलोमिटरभित्रसम्म प्रवेश गरेका छन्।