रुस र युक्रेनबीच लगातार आक्रमण र प्रत्याक्रमण हुन थालेपछि शान्ति वार्ता सफल हुनेमा आशंका

सफल खबर संवाददाता

मंगलबार, १२ चैत्र २०८१, १२ : ५१
रुस र युक्रेनबीच लगातार आक्रमण र प्रत्याक्रमण हुन थालेपछि शान्ति वार्ता सफल हुनेमा आशंका

काठमाडौ। रुस र अमेरिकाबीच युद्धविरामको प्रयासका लागि वार्ता चलिरहँदा रुसले उत्तर-पूर्वी युक्रेनको सुमी शहरमा मिसाइल आक्रमण गरेको छ  ।यो आक्रमणमा कम्तीमा ६५ जना घाइते भएका छन्, जसमा १४ जना बालबालिका पनि परेका छन् । युक्रेनका विदेशमन्त्री एन्ड्री सिबिहाले रुसले दोहोरो खेल खेलेको आरोप लगाए ।

'रुसले शान्तिको खोक्रो कुरा गर्नुभन्दा आक्रमण बन्द गर्नुपर्छ,' उनको भनाइ छ । यो घटनाले रुस र युक्रेनबीचको तनावलाई थप उजागर गरेको र जारी शान्ति वार्ताको प्रभावकारितामाथि प्रश्न उठाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले टिप्पणी गरेका छन्।

ब्ल्याक सी खाद्यान्न सम्झौतामा छलफल हुँदै

सोमबार साउदी अरबको राजधानी रियादमा अमेरिका र रुसका अधिकारीबीच १२ घण्टासम्म वार्ता चलेको थियो ।वार्ताको मुख्य एजेन्डा सन् २०२२ मा भएको 'ब्ल्याक सी खाद्यान्न सम्झौता'लाई पुनर्स्थापित गर्नु रहेको थियो ।

यो सम्झौताले युक्रेनलाई ब्ल्याक सीमार्फत् खाद्यान्न निर्यात गर्न अनुमति दिएको थियो । रुसले सन् २०२३ मध्यतिर पश्चिमी प्रतिबन्ध कायम रहेको भन्दै यो सम्झौताबाट बाहिरिएको थियो ।त्यसको प्रत्युत्तरमा मस्कोले आफ्ना मल निर्यातका लागि रुसमाथि लागेको प्रतिबन्ध हटाउन माग गरेको छ ।

व्हाइट हाउसले रियाद वार्तालाई 'अत्यन्तै सकारात्मक' भनेको रिपोर्टिङ रोयटर्सले गरेको छ । रोयटर्सका अनुसार छिटै केही सकारात्मक घोषणा हुने अमेरिकी अधिकारीहरूले जनाएका छन् ।

रुसी समाचार एजेन्सीहरूले मंगलबार संयुक्त वक्तव्य जारी हुने जनाएका छन् । यता, युक्रेन र अमेरिकी प्रतिनिधिमण्डल मंगलबार साउदी अरबमै भेट्ने योजना रहेको युक्रेनको राष्ट्रिय प्रसारक सस्पिल्नेले उल्लेख गरेको छ । यो वार्तामा युक्रेन र रुसका प्रतिनिधिबीच प्रत्यक्ष भेटघाटको कुनै योजना छैन ।

रुसको आक्रमण जारी

सोमबार रुसले गरेको मिसाइल आक्रमणमा परी युक्रेनी भू-भाग सुमीको एउटा स्कूल, अस्पताल र अपार्टमेन्ट भवन क्षतिग्रस्त भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।सुमी, रुसको कुर्स्क क्षेत्रको सीमासँग जोडिएको युक्रेनी शहर हो । यो लामो समयदेखि रुसी आक्रमणको निशानामा छ ।

गत वर्ष युक्रेनले कुर्स्कको केही भाग कब्जा गरेपछि यो क्षेत्रको रणनीतिक महत्त्व बढेको छ ।युक्रेनका प्रधानमन्त्री डेनिस स्मीहालले यो आक्रमणलाई रुसले आतंक जारी राख्न चाहेको प्रमाणका रूपमा लिएका छन् । उनले अन्तर्राष्ट्रिय समुदायलाई रुसमाथि दबाब बढाउन आह्वानसमेत गरेका छन् ।

यसैबीच, रुसको रक्षा मन्त्रालयले युक्रेनले सोमबार बिहान दक्षिणी रुसको क्रास्नोदार क्षेत्रमा रहेको क्रोपोत्किन्स्काया तेल पम्पिङ स्टेसनमा ड्रोन आक्रमण गरेको दाबी गरेको छ ।रुसको राज्यनियन्त्रित सञ्चारमाध्यमले सोमवार रातभरमा २२७ युक्रेनी ड्रोनहरू खसालिएको बताइएको छ ।

यता, रुसको हवाई आक्रमणले युक्रेनको कीभ क्षेत्रमा एक ३७ वर्षीय पुरुष घाइते भएका छन् ।

३० दिने युद्धविरामको उल्लंघनको आरोप

गत साता रुस र युक्रेनबीच ऊर्जा पूर्वाधारमा आक्रमण नगर्ने ३० दिने युद्धविरामको मौखिक सहमति भएको थियो । तर, दुवै पक्षले एकअर्कालाई यो सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन् । सुमी आक्रमण र रुसको तेल स्टेसनमा भएको ड्रोन हमलाले यो सहमति कार्यान्वयनमा जटिलता थपिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विट्कफले शान्तिका लागि वार्तामार्फत नै अघि बढ्नुपर्ने र त्यसपछि मात्र वास्तविक प्रगति हुने आशा व्यक्त गरेका छन् ।फक्स न्यूजसँगको एक अन्तर्वार्तामा उनले युक्रेन र रुससँगको छुट्टाछुट्टै छलफलले युद्ध अन्त्यको बाटो खोल्ने बताए ।

आइतबार साँझ कीभ र वासिङ्टनका अधिकारीहरू बीच भएको भेटपछि युक्रेनका रक्षामन्त्री रुस्तेम उमेरोभले वार्ता फलदायी रहेको र वार्तामार्फत न्यायपूर्ण र दिगो शान्ति ल्याउन काम भइरहेको उल्लेख गरे ।

यता, क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले वार्ताको मुख्य चरण बाँकी नै रहेको र अहिले प्रारम्भिक चरणको कुराकानी मात्र भएको बताएका छन् । रियाद वार्ताले ब्ल्याक सी सम्झौता पुनर्स्थापना गर्ने आशा जगाए पनि रुसले सुमीमा गरेको आक्रमणले रुसको मनसायमाथि शंका उत्पन्न गरेको छ ।

युक्रेनले वार्तालाई फलदायी भनेको छ तर रुस र युक्रेनबीचको प्रत्यक्ष संवादको अभाव र निरन्तर आक्रमणले पूर्ण युद्धविरामको सम्भावना थप जटिल बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।