रुसको भूमिमा हामीले सैन्य कार्यालय स्थापना गर्‍यौँ : युक्रेन

एजेन्सी

शुक्रबार, ३२ साउन २०८१, १० : ०९
रुसको भूमिमा हामीले सैन्य कार्यालय स्थापना गर्‍यौँ : युक्रेन

एजेन्सी । युक्रेनले रुसको पश्चिमी कुर्क्स क्षेत्रमा आफ्नो सैन्य प्रशासनिक कार्यालय स्थापना गरेको छ। 

बीबीसीका अनुसार युक्रेनका शीर्ष कमान्डर ओलेक्जेन्डर सिर्स्कीले उक्त आधारबाट रुसमाथि आक्रमण जारी राखिएको बताएका छन्। 

सिर्स्कीका अनुसार पश्चिमी कुर्क्स क्षेत्रमा खोलिएको यो कार्यालयले शान्ति सुरक्षा कायम गर्न र जनताको तत्काल आवश्यकता पूरा गर्न भूमिका खेल्नेछ। 

सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडिओमा जनरल सिर्स्कीले युक्रेनको नियन्त्रणमा रहेको क्षेत्रमा यो कार्यालय बनाइएको बताएका छन्। यो बैठक युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको अध्यक्षतामा भएको थियो।

युक्रेनको यो कदमप्रति प्रतिक्रिया दिँदै रुसी रक्षामन्त्री आन्द्रेई बेलोसोभले कुर्स्क क्षेत्रका जनताको सुरक्षाका लागि आवश्यक कदम चाल्ने बताएका छन्।

युक्रेनले बिहीबार रुसी क्षेत्रमा आफ्नो कब्जा जमाएको दाबी गरेको छ। जनरल सिर्स्कीका अनुसार युक्रेनी सैनिकहरू कुर्क्स क्षेत्रमा ३५ किलोमिटर प्रवेश गरेका छन्। आफूहरूले ८२ बस्तीसहित रुसको ११५० वर्गकिलोमिटर क्षेत्र कब्जा गरेको उनको दाबी छ। 

यो युक्रेनले रुसमाथि गरेको अहिलेसम्मकै सबैभन्दा खतरनाक आक्रमण हो। तर युक्रेनले रुसको भूभाग कब्जा गर्न इच्छुक नभएको बताएको छ।

युक्रेनी विदेश मन्त्रालयका प्रवक्ता हेओरही टिखीले बुधबार भनेका थिए-  घुसपैठ शान्ति पुनर्स्थापना गर्न रसियालाई दबाब दिने प्रयासको एक हिस्सा हो।