सत्ता परिवर्तन गर्ने राजनीति गर्नु हुँदैन : मन्त्री चौधरी

सफल खबर संवाददाता

आइतबार, २७ साउन २०८१, १४ : ४०
सत्ता परिवर्तन गर्ने राजनीति गर्नु हुँदैन : मन्त्री चौधरी

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सत्ता परिवर्तन गर्ने राजनीति गर्न नहुने बताएका छन् । ललितपुरमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री चौधरीले अब समाज परिवर्तन र विकासको राजनीति गर्नुपर्ने बताए । उनले विद्यार्थीलाई खेलकुदमा जोड्न आवश्यक रहेको पनि उल्लेख गरे । उनले डिजिटलाइजका कारण बिस्तारै विद्यालयबाट खेलकुदका गतिविधिहरू हट्दै गएको भन्दै चिन्ता व्यक्त गरे ।

उनले डिजिटलको प्रयोग गर्नुपर्ने तर त्यसको विकृति र विसंगतिलाई रोक्न आवश्यक रहेको बताए  । मन्त्री चौधरीले सरकारले खेलकुद र युवालाई आवश्यक महत्त्व दिन नसकेको बताए । उनले युवा तथा खेलकुद मन्त्रालयमा सबैभन्दा कम बजेट दिइएको भन्दै असन्तुष्टि जनाए ।

स्थानीय तहमा युवालाई राम्रोसँग परिचालन गर्न सक्नुपर्ने उनले बताए । मन्त्री चौधरीले सरकारले भदौ महिनाभित्र नै युवा नीति ल्याउने बताए । उनले नेपालमा काम गर्ने मानिसलाई प्रशस्त रोजगारीका अवसर रहेको बताए ।

उनले नेपालमा शिक्षक नपाएर विद्यालयका लागि बाहिरबाट ल्याउने गरेको बताए । उनले १० वर्षपछि नेपालमा शिक्षक नपाइने दाबी गरे । उनले युवा पुस्ता शिक्षक बन्न लाग्नुपर्ने बताए । 

प्रतिक्रिया दिनुहोस