खेलाडीबारे नसोच्ने खेलकुद पदाधिकारीमाथि अप्रिय निर्णय लिन्छु : मन्त्री चौधरी

सफल खबर संवाददाता

बुधबार, २३ साउन २०८१, १४ : ५५
खेलाडीबारे नसोच्ने खेलकुद पदाधिकारीमाथि अप्रिय निर्णय लिन्छु : मन्त्री चौधरी

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीहरूलाई स्वदेशमै जीवनयापन गर्नसक्ने वातावरण बनाउने गरी सरकारले आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएका छन् । बुधबार त्रिपुरेश्वरस्थित कार्यालयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का निवर्तमान उपाध्यक्ष शिव कोइरालाको बिदाइ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री चौधरीले खेलाडीहरुका जुन देशमा राम्रो काम गर्न सकिँदैन, सेवा, सुविधा दिन सकिँदैन त्यस देशबाट प्रतिभावान् खेलाडी पलायन भइरहने बताए । उनले सक्षम खेलाडीलाई कसरी नेपालमा रोक्ने, उनीहरूलाई केके सुविधा दिँदा जीविका चलाउन सहज हुन्छ भन्नेबारेमा सरकारले आवश्यक काम गर्ने पनि बताए ।

उनले खेलाडीहरूका लागि भन्दा आफ्ना लागि बढी सोच्ने मन्त्रालय मातहतका खेलकुद निकायहरूलाई अप्रिय निर्णय लिने चेतावनी दिए । उनले सरकारले उत्कृष्ट खेलाडीहरूको वर्गीकरण गर्न लागेको जानकारी दिँदै उनीहरूका दुई सन्तानसम्मलाई कक्षा १२ सम्मको शिक्षा राम्रा विद्यालयमा अध्ययन गर्न पाउने व्यवस्था गर्न लागेको पनि बताए ।

मन्त्री चौधरीले खेलाडीको जीवन बीमा बढाउने गरी सरकारले सोचिरहेको बताए । उनले खेलाडीहरूको स्वास्थ्य बीमाका बारेमा अस्पतालहरूसँग कुरा भइरहेको बताए । उनले खेलाडीहरूलाई नेपाली सेना र नेपाल प्रहरीमा मात्रै जागिर दिइरहेको भन्दै अन्य क्षेत्रमा पनि जोड्ने गरी आवश्यक पहल गर्ने बताए । 

प्रतिक्रिया दिनुहोस