हेलिकप्टर दुर्घटनाः पोस्टमार्टम गरेर शव आफन्तलाई बुझाइने तयारी

सफल खबर संवाददाता

विहीबार, २४ साउन २०८१, ११ : ५४
हेलिकप्टर दुर्घटनाः पोस्टमार्टम गरेर शव आफन्तलाई बुझाइने तयारी

काठमाडौँ। एयर डाइनेस्टीको कलसाइन ९ एन–एजेडी हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाको पोस्टमार्टम आज हुँदै छ। त्रिवि शिक्षण अस्पताल स्रोतका अनुसार मृतकको पोस्टमार्टम आज गरेर आजै आफन्तलाई र सम्बन्धित निकायलाई बुझाइने तयारी गरिएको हो ।

बुधवार नेपाल नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्तिमार्फत शव सङ्कलन गरी शव परीक्षण तथा अन्य कार्यका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको जनाएको थियो।

मृत्यु भएकाको शव डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणालीबाट पोस्टमार्टम हुने त्रिवि शिक्षण अस्पताल फोरेन्सिक विभागका प्रमुख डा।गोपालप्रसाद चौधरीले जानकारी दिए ।

‘पोस्टमार्टम तथ्याङ्क सङ्कलन कार्य भइरहेको छ, हामीले चाइनिज अफिस कन्सुलरमार्फत मृतकका आफन्तलाई विवरण भर्न आग्रह गरेका छौँ’ उनले भने, ‘उहाँहरूबाट फारम भरेर आइसकेपछि (पोस्टमार्टमको विवरण आइसकेपछि) म्याचिङ प्रोसेस सुरु गरेर बडी आइडेन्टीफाई सुरु हुन्छ ।’ डा.चौधरीका अनुसार आफन्तबाट मृतकको पहिचान विवरण र पोस्टमार्टम विवरण आज सङ्कलन गरिनेछ । भोलि मात्रै शव पहिचानको म्याचिङ हुने उनले बताए ।

दुर्घटनामा परी पाइलट अरुण मल्ल, चिनियाँ नागरिक ३८ वर्षीय जुताओ ताङ, ३६ वर्षीय जी ली, ४१ वर्षीय जेमिङ सी र ३१ वर्षीय वु यीयाओ मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस