एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा परेका चिनियाँ नागरिकको अझै खुलेन पहिचान

सफल खबर संवाददाता

आइतबार, २७ साउन २०८१, ११ : २७
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा परेका चिनियाँ नागरिकको अझै खुलेन पहिचान

काठमाडौँ । एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा परेका चिनियाँ नागरिकको पहिचान अझै नखुलेको बताइएको छ । दुर्घटनामा परेका चिनियाँ नागरिकको परिवारबाट तथ्य संकलनमा ढिलाई भएपछि पहिचान खुल्न नसकेको हो ।

चिनियाँ पर्यटक जुदाड टाङ (पुरुष), जी ली (पुरुष), यियाद वु (महिला) र जेमिङ सी (पुरुष) को शव पहिचानका लागि अझै तथ्याङ्क संकलनको काम भइरहेको त्रिवि शिक्षण अस्पताल फोरेन्सिक विभागका प्रमुख डा.गोपालप्रसाद चौधरीले जानकारी दिए ।

‘परिवारका आफन्तबाट मृतकको हुलियाको तथ्यांक संकलन भइरहेको छ,’ उनले भने, ‘तर पूर्णरुपमा तथ्यांक प्रप्त हुन सकेको छैन, शव सुरक्षित राखेको छौँ ।

मृतकको शवको पहिचान डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणालीबाट (पोस्टमार्टम) पहिचान गरिन्छ । डा.चौधरीका अनुसार आफन्तबाट मृतकको पहिचान विवरण संकलन हुन सकेको छैन ।

डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणालीबाट पोस्टमार्टम गर्दा सुरुमा शव पहिचानका लागि फिंगर प्रिन्ट, डेन्टल (दाँतको भाग) र शरीरमा स्थायी रूपमा बनेका सङ्केतहरू (खत, ट्याटु आदि), पहिरन, गहना लगायत हेरिने विभाग प्रमुख डा.चौधरीको भनाई छ ।

गत २३ गते बुधबार दिउँसो काठमाडौँ विमानस्थलबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको शिवपुरीमा दुर्घटना भएको थियो । सो दुर्घटनामा परी क्याप्टेन अरुण मल्लसहित चार चिनियाँ नागरिकको मृत्यु भएको थियो । मल्लको शव भने परिवारलाई जिम्मा लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस