कांग्रेसमा ७० पुग्यो विभाग

सफल खबर संवाददाता

मंगलबार, २२ साउन २०८१, १९ : ४५
कांग्रेसमा ७० पुग्यो विभाग

काठमाडौँ । नेपाली काँग्रेसले आफ्नो केन्द्रीय विभागको संख्या थपेर ७० पुर्‍याउने भएको छ । पार्टीको विधानमा ४८ वटा विभाग रहने व्यवस्था भए पनि विषयगत विभागहरू थप गर्दा ७० पुग्ने महामन्त्री विश्वप्रकाश शर्माले बताए ।

कतिपय पुराना विभाग विभाजन गरिएको र कतिपय नयाँ थप गरिएको उनले बताए । सभापति शेरबहादुर देउवाले १२ जेठ २०८० मा प्रचार विभागमा मीन विश्वकर्मालाई तोकेदेखि सोमबारसम्म पाँच पटक गरी ५५ जना केन्द्रीय सदस्यलाई विभिन्न विभागको प्रमुख तोकेका छन् । अरु विभागका प्रमुख तोकिन बाँकी छन् ।

विधानतः बनेका विभागका लागि काम, कर्तव्य र अधिकार किटान गरिएको छ । नयाँ थपिएका विभागका हकमा भने उनीहरूको भूमिका स्पष्ट भएको छैन । महामन्त्री शर्माले केन्द्रीय कार्यालयले उनीहरूले गर्ने काम तोक्ने बताए ।

प्रत्येक विभागमा प्रमुखसहित ५१ जनासम्म सदस्य हुने व्यवस्था छ । महाधिवेशन सकिएको छ महिनाभित्र विभाग गठन गर्नुपर्ने व्यवस्था पार्टी विधानमा भए पनि साढे दुई वर्षसम्म गठन हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस