कञ्चनपुरमा महिलाको ज्यान लिएको बाघ नियन्त्रणमा

सफल खबर संवाददाता

शुक्रबार, १८ साउन २०८१, १२ : २८
कञ्चनपुरमा महिलाको ज्यान लिएको बाघ नियन्त्रणमा

काठमाडौँ । कञ्चनपुरमा महिलाको ज्यान लिएको बाघलाई आज नियन्त्रणमा लिइएको छ । बाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले बिहान डार्ट गरेर नियन्त्रणमा लिएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार प्राविधिक टोलीले बाघलाई महिलामाथि आक्रमण गरेकै स्थान दोधारा चाँदनी नगरपालिका-२ को उखुबारीबाट नियन्त्रणमा लिइएको जनाएको छ । बाघलाई अहिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयमा राखिएको छ भने कहाँ पठाउने भन्ने विषयमा सल्लाह भइरहेको छ ।

बिहीबार बिहान घर नजिकैको उखुबारीमा घाँस काट्ने क्रममा दोधारा चाँदनी नगरपालिका-२ बस्ने २३ वर्षीया हिरा शाहलाई बाघले आक्रमण गरेको थियो । शाहको घटनास्थलमै मृत्यु भएको थियो ।

तत्कालै बाघको खोजीका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट हात्तीसहितको प्राविधिक टोली खटिएको थियो तर बिहीबार दिनभर प्रयास गर्दा समेत बाघलाई नियन्त्रणमा लिन सकिएको थिएन ।