डीआइजी मनोज केसीको सरुवालाई लिएर रास्वपाले उठायो प्रश्न

सफल खबर संवाददाता

आइतबार, १३ साउन २०८१, १४ : २४
डीआइजी मनोज केसीको सरुवालाई लिएर रास्वपाले उठायो प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रहरी नायव महानिरीक्षक (डीआइजी) मनोज केसीको सरुवाका सम्बन्धमा प्रश्न उठाएको छ । आइतबार प्रतिनिधि सभामा आकस्म्कि समयमा लिएर बोल्दै रास्वपाका सांसद हरि ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिएको दुई दिनभित्रै केसीको सरुवा किन गरियो भनेर प्रश्न गरे ।

‘…डिआइजी मनोज केसीलाई कसरी सरुवा गरियो ? विश्वासको मत लिएको दुई दिन भित्रमा सरुवा गरियो । किन ? के का लागि ? के उदेश्यका लागि ?’ सांसद ढकालले प्रश्न गरे ।

गत बुधबार गृहमन्त्री स्तरीय निर्णयबाट नेपाल प्रहरीको विशेष ब्यूरोका प्रमुख डीआईजी केसीलाई जिम्मेवारीबाट हटाएको थियो । केसीलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा पठाइएको छ भने प्रतिष्ठानमा रहेका डिआइजी राजन अधिकारीलाई ब्यूरोमा पठाइएको छ ।

केसीको दुई महिना नबित्दै सरुवा भएको हो । केसीको गत जेठ १६ गते ब्यूरोमा सरुवा भएको थियो । कांग्रेसका एक महामन्त्रीले विगतमा इन्सपेक्टर सरुवाको विषयमा बोलेको स्मरण गर्दै उनले डिआइजी केसीको सरुवाको विषयमा बोल्न सक्ने कि नसक्ने भनेर समेत सांद ढकालले प्रश्न गरे ।