काभा वुमन्स नेसन्स लिगको खेल तालिका सार्वजनिक

सफल खबर संवाददाता

शुक्रबार, ११ साउन २०८१, १५ : ३४
काभा वुमन्स नेसन्स लिगको खेल तालिका सार्वजनिक

काठमाडौं । काभा वुमन्स नेसन्स लिग भलिबलको खेल तालिका र ट्रफी सार्वजनिक भएको छ । नेपाल भलिबल संघ (एनभीए) ले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता साउन १७ देखि २३ गतेसम्म त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आयोजना हुने जानकारी गराएको हो ।

प्रतियोगितामा नेपालसहित मध्य एसियाका ५ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । एनभिएका अनुसार नेपाल, भारत, श्रीलंका, माल्दिभ्स र इरानले प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

नेपालले उद्घाटन खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । पहिलो दिनमै भारत र इरानबीच दोस्रो खेल हुनेछ । नेपालले दोस्रो खेल साउन १८ गते भारतसँग, तेस्रो खेल साउन १९ गते इरानसँग र चौथो खेल साउन २० गते माल्दिभ्ससँग खेल्नेछ ।लिग चरणको खेलपछि शीर्च चारमा रहने टोली सेमिफाइनल प्रवेश गर्नेछन् । लिगमा पहिलो र चौथो तथा दोस्रो र तेस्रो भएको टोलीबीच सेमिफाइनल खेल हुनेछ ।प्रतियोगितामा लिग चरणका १० सेमिफाइनल २ तथा फाइनल र तेस्रो स्थान खेल गरी कूल १४ खेल हुनेछ ।

यसैगरी काभा वुसन्स लिगको विजेताले पाउने ट्रफी पनि शुक्रबारै सार्वजनिक गरिएको हो । एनआरएनएका पूर्व अध्यक्ष उपेन्द्र महतोले विजेताले पाउनृ ट्रफी अनावरण गरे ।
वुमन्स नेसन्स लिगका लागि नेपाली राष्ट्रिय महिला भलिबल टोली अहिले तयारी गरिरहेको छ ।

अरुणा शाहीको कप्तानीमा रहेको नेपालले काभा नेसन्स लिगकै तयारी स्वरुप रुसियन महिला टिमसँग राखेप कभर्डहलमै दुई मैत्रीपूर्ण खेल समेत खेलेको थियो । शारीरिक रुपमा अग्ला र अनुभवी टोली विरुद्ध खेल्दा नेपालले आफ्नो कमजोरीहरु पत्ता लगाउने अवसर पाएको थियो । यस्तै नयाँ कुरा सिक्ने अवसर समेत मिलेको थियो ।

 

प्रतिक्रिया दिनुहोस