संघीयताविरूद्ध कुरा आएपछि संविधान संशोधनको बहस चलेको हुनुपर्छ : सभामुख घिमिरे

सफल खबर संवाददाता

विहीबार, १० साउन २०८१, १४ : १२
संघीयताविरूद्ध कुरा आएपछि संविधान संशोधनको बहस चलेको हुनुपर्छ : सभामुख घिमिरे

हेटौंडा । सभामुख देवराज घिमिरेले संघीयताविरूद्ध आवाज उठिरहेकाले संविधान संशोधनको बहस चलेको हुन सक्ने बताएका छन् । संघीयता आवश्यक नभएको, यसले आर्थिक भार बढाएको लगायत नकारात्मक टिकाटिप्पणी भइरहेका बेला सरकार परिवर्तन हुँदा संविधान संशोधनको विषय उठेको हुन सक्ने बताए । `तर अहिले त्यता जाने बेला भएको छैन । यो विषयमा अहिले म केही भन्दिन´, उनले भने ।

हेटौंडामा बिहीबार युवा सीप वर्ष २०८१ अन्तर्गत सञ्चालित निःशुल्क सीप विकास तालिमहरूको प्रमाण पत्र वितरण कार्यक्रममा घिमिरेले देशमा युवालाई ठीक ढंगले प्रयोग गर्नुपर्ने बताए ।

चुनौतीको सामना गर्दै त्यसलाई अवसरमा बदल्न सक्ने युवा शक्ति आवश्यक रहेको भन्दै उनले संसारमा भएका परिवर्तनमा युवाहरूको भूमिका महत्वपूर्ण रहेको धारणा राखे ।

गणतन्त्रपछिका सरकारले युवाको क्षेत्रमा अपेक्षित काम गर्न नसकेको पनि उनको भनाइ छ ।नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले वैदेशिक रोजगारीका कारण देशका धेरै विश्वविद्यालय, कलेजहरू खाली हुँदै जाने खतरा बढेको बताए । उनले युवाहरूलाई सीप सिकाउँदै स्वरोजगार र रोजगारी प्रदान गरेर युवाहरूलाई स्वदेशमै टिकाउनु अपरिहार्य भएको धारणा राखे ।

बागमती प्रदेश युवा परिषद् कार्यालय हेटौंडाले गत आर्थिक वर्ष २०८०/८१ मा टेलरिङ, फेसन डिजाइनर, ब्यूटिसियन, मन्टेश्वरी, कुक, बारिष्ठा, वेटर/वेट्रेस, डकर्मी, सिकर्मी, विल्डिङ इलेक्ट्रिसियन, प्लम्बिङ, मोटरसाइकल मर्मतलगायतका २१ प्रकारका आधारभूत तालिम प्रदान गरेको थियो ।

परिषद्ले प्रदेशका १३ वटै जिल्लामा ५ हजार जनालाई तालिम प्रदान गरेको कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले जानकारी दिए । बिहीबार हेटौंडामा चितवन, मकवानपुर र सिन्धुलीमा दिइएको तालिमका सहभागीलाई प्रमाण पत्र वितरण गरिएको परिषद्का उपाध्यक्ष चौलागाईंले जानकारी दिए ।

ब्यूटिसियन तालिम लिएकी विष्णुकुमारी परियारले प्रदेश युवा परिषद्ले सीप सिकाउँदै काम गरेर बाँच्न सक्ने बाटो देखाइदिएको बताइन् । उनले उद्यमी बनेर देखाउने सुनाइन् । परियारले दोस्रो तहको तालिम आवश्यक रहेको जानकारी गराइन् ।

प्रतिक्रिया दिनुहोस