कोशी प्रदेशका वन रक्षक आन्दोलित

सफल खबर संवाददाता

मंगलबार, ०८ साउन २०८१, १६ : २८
कोशी प्रदेशका वन रक्षक आन्दोलित

विराटनगर । अरू प्रदेशमा जस्तै वन रक्षकलाई तेस्रो पद कायम गरिनुपर्ने माग राखेर कोशी प्रदेशका वन रक्षकहरू आन्दोलित बनेका छन् ।कोशी प्रदेशमा वन रक्षकलाई आधारभूत तहमा राखिएको छ ।

सङ्घीय निजामती सेवा ऐन, अन्य प्रदेशको निजामती सेवा ऐन तथा कोशी प्रदेशको स्थानीय तहको सेवा, सर्त र सुविधासम्बन्धी ऐनमा जस्तै चौथो तहमा पदपूर्ति गर्दा आन्तरिक प्रतियोगितात्मक परीक्षा र ज्येष्ठता तथा कार्यक्षमता मूल्याङ्कनबाट हुने बढुवाको समेत व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ । कोशी प्रदेशमा अहिले बढुवाको व्यवस्था छैन ।

सङ्घर्ष समितिका सचिव सुरेन्द्र थलङले वन रक्षक पद प्राविधिक पद भएको र २०५७ सालअघि राज्यले प्राविधिक पदमा कार्यरत कर्मचारीलाई थप दुई ग्रेड उपलब्ध गराउँदा वन रक्षकलाई पनि उपलब्ध गराएको बताए ।

‘राज्यले पनि यो पद प्राविधिक पद भनेर स्वीकार गरेको देखिन्छ । कोशी प्रदेश बाहेक अन्य प्रदेशको प्रदेश निजामती सेवा ऐनमा वन रक्षकलाई तेस्रो तहमा राखिएको छ । तर कोशी प्रदेशले आधारभूत तहमा राखेर हामीमाथि अपमान गरियो,’ थलङले भने ।

कोशी प्रदेशले आफूहरूको वृत्ति विकास समेत रोकेको उनीहरूको भनाइ छ । आफूहरूको मागका विषयमा सम्बन्धित मन्त्रालय, मुख्यमन्त्री कार्यालयलगायत सबै सरोकारवालासँग गुनासो राखेपनि सुनुवाइ नभएको उनले बताए ।

सङ्घर्ष समितिका अध्यक्ष गोविन्द खत्रीले माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए । अहिले पनि श्रेणीविहीन पदमा स्थायी पदपूर्ति हुँदैन तर वन रक्षक पदमा भने हुने गरेको छ । तर, कोशी प्रदेशले कार्यालय सहयोगी सरहको हैसियतमा वन रक्षकलाई राखेको छ । यो पद विशेष पद भएकोले अलग गरेर तेस्रो तहमा राख्नुपर्ने थलङको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस