ममाथि प्रतिशोध साधेर स्टन्टको राजनीति गर्न खोजियो : विनोद चौधरी

सफल खबर संवाददाता

सोमबार, ०७ साउन २०८१, १३ : ५५
ममाथि प्रतिशोध साधेर स्टन्टको राजनीति गर्न खोजियो : विनोद चौधरी

काठमाडौँ । काँग्रेस सांसद तथा उद्योगपति विनोद चौधरीले राष्ट्रिय स्वतन्त्र पाटीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले स्टन्टको राजनीति गरेको आरोप लगाएका छन् । आइतबार प्रतिनिधि सभामा लामिछानेले उल्लेख गरेका केही प्रसंगमाथि जवाफ दिँदै चौधरीले आफूमाथि प्रतिशोध साध्न खोजिएको बताएका छन् ।

‘प्रतिनिधि सभाको बैठकमा एक जना माननीयले मप्रति लक्षित गरेर जनतालाई दिग्भ्रमित पार्ने नियतले तथ्यहीन, अत्यन्तै नियोजित र कुण्ठापूर्ण अभिव्यक्ति दिएका छन्,’ चौधरीले सोमबार सामाजिक सञ्जाल एक्समा भनेका छन्, ‘जसकाप्रति मेरो घोर आपत्ति छ, विवादित विगत र वर्तमान भएको र अहिले पनि राज्यको छानबिनको घेरामा रहेको व्यक्तिले जसरी आज संसद्जस्तो गरिमामय थलोमा कुण्ठा पोखे, ती स्टन्टको राजनीतिबाहेक अरु केही होइन ।’

सांसद चौधरीले अन्तर्राष्ट्रिय संगीत दिवसका दिन बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा गएको विषयलाई लामिछानेले असान्दर्भिक रूपमा राजनीतिकरण गरेको समेत आरोप लगाएका छन् ।

आइतबार प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतमाथिको प्रस्तावमा बोल्ने क्रममा लामिछानेले चौधरीलक्षित केही प्रसंग निकालेका थिए । उनले भनेका थिए, ‘सरकार सुरु हुने बित्तिकै हामीले अनुसन्धान गरिरहेको विषय, हाजिरी जमानीमा छुट्नु भएको मान्छे बालकोटमा गीत गाउँदै हुनुहुन्थ्यो । बाँसबारी छाला जुत्ताको अनुसन्धान चली रहँदारहँदै बालकोटबाट गीतको आवाज आयो । त्यहाँ हामीलाई शंका भयो । त्यसपछि मन्त्री परिषद् बन्यो । जहाँ-जहाँ हामीले विषय उठायौँ, त्यहाँ त्यहाँ पुरस्कार देखियो ।’

प्रतिक्रिया दिनुहोस