उखुको समर्थन मूल्य छिटो तोक्न र मलको कोटा बढाउन सांसद विनोद चौधरीको माग

सफल खबर संवाददाता

मंगलबार, २२ असोज २०८१, ११ : ३०
उखुको समर्थन मूल्य छिटो तोक्न र मलको कोटा बढाउन सांसद विनोद चौधरीको माग

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले उखुको समर्थन मूल्य तोक्न सरकारसँग माग गरेका छन् । उनले समयमै उखुको समर्थन मूल्य नतोक्दा किसान निराश बनेको भन्दै सरकारलाई छिटो समर्थन मूल्य तोक्न र अघिल्लो वर्षभन्दा मूल्य बढाउन ध्यानाकर्षण गराएका हुन् ।

नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद चौधरीले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र कृषिमन्त्री रामनाथ अधिकारीलाई भेटेर किसानका समस्याका बारेमा ध्यानाकर्षण गराएका हुन् ।

सांसद चौधरीको निर्वाचन क्षेत्र उखु खेतीका लागि पकेट क्षेत्र मानिन्छ । गत वर्ष सरकारले तोकेको अनुदानबापतको रकम किसानले अहिले पनि नपाएको र केहि चिनी मिलले पनि किसानलाई अझै भुक्तानी नदिएको सांसद चौधरीले बताए ।

उनले बजारमा बढेको महँगीलाई ध्यान दिएर उखुको समर्थन मूल्य र अनुदान रकम पनि बढाउन माग गरेका छन् । उखुको न्यूनतम मूल्य प्रतिक्विन्टल ७३५ रुपैयाँ र ढुवानी बापतको नेपाल सरकारले प्रदान गर्ने अनुदान रकम प्रतिक्विन्टल १०० रुपैयाँ गरी ८३५ रुपैयाँ कायम गर्न प्रस्ताव गरेका छन् ।

प्रतिक्रिया दिनुहोस