उद्योगमा काटिएको लाईन आजै जोडिन्छ: उर्जामन्त्री खड्का

सफल खबर संवाददाता

आइतबार, ०६ साउन २०८१, ११ : ५५
उद्योगमा काटिएको लाईन आजै जोडिन्छ: उर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विद्युत् भुक्तानी विवाद तत्काल समाधान गरेर उद्योगमा काटिएको लाइन आजै जोडिने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नै नेपाल विद्युत प्राधिकरणका एमडी कुलमान घिसिङलाई विद्युत महसुल नतिरेपनि तत्काल उद्योगीको समस्या समाधान गर्न निर्देशन दिएका थिए । तर, कुलमानले ओलीको निर्देशन नमानेपछि मन्त्री खड्का आफैँ लागिपरेका छन् । उनले आज साँझसम्मका समस्याको समाधान खोजर काटिएका सबै उद्योगको लाईन जोड्ने बताएका छन् ।

आफ्नो निर्देशन अटेर गरेपछि कुलमान र प्रधानमन्त्री ओलीबीच विवाद सतहमा आएको छ । कुलमानले प्रधानमन्त्री ओलीको निर्देशन अवज्ञा गरेको चर्चा सुरु भएको छ । तर, कुलमानले भने ठूलो मात्रामा बाँकी बक्यैता उठाउन बाँकी भएकोले त्यसको लागि मन्त्रालयबाट नै लिखित निर्देशन जारी हुनुपर्ने अडान लिएका छन् । उता, मन्त्री खड्काले भने बाँकी बक्यौतापनि उठाउने र विद्यतु अवरोधपनि हटाउनेगरि पहल लिएका छन् ।

उनले उद्योगको लाईनपनि अवरुद्ध नगर्ने र उद्योगबाट बाँकी बक्यैतापनि उठाउने विषयमा केन्द्रित रहेर शनिबार सरोकारवाला निकायका प्रमुखहरुसँग छलफल गरेको उनको सचिवालयले जनाएको छ। प्राधिकरणले भने निजी उद्योगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ वापतको शुल्क नतिरेको भन्दै उद्योगमा बिजुली काट्ने कामलाई शनिबार पनि निरन्तरता दिएको थियो । आइतबार विहानसम्म विवाद समाधान गर्नेगरि शनिबारको छलफल समापन भएको मन्त्री खड्कोको सचिवालयले जनाएको छ ।

मन्त्री खड्काको सचिवालयले जनाएअनुसार मन्त्री खड्काले छलफलमा भनेका थिए ,‘विद्युत् भुक्तानी विवादलाई व्यावहारिक ढंगले टुंगोमा पु¥याउन समाधानको उपायसहित अगाडि बढ्नुपर्छ। यसका लागि दुवै पक्षले गम्भीरतापूर्वक छलफल गरी भोलीसम्ममा निष्कर्षमा पुग्नुस्, यसमा मन्त्रालयको तहबाट गर्नुपर्ने सहयोगका लागि हामी तयार छौँ।’

प्रतिक्रिया दिनुहोस