सङ्खुवासभाको भविष्य ऊर्जामा छ : उर्जामन्त्री खड्का

सफल खबर संवाददाता

शनिबार, ०५ साउन २०८१, १२ : ०२
सङ्खुवासभाको भविष्य ऊर्जामा छ : उर्जामन्त्री खड्का

काठमाडौँ  । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभाको विकासका लागि ऊर्जा क्षेत्र महत्त्वपूर्ण भएको बताएका छन् । सङ्खुवासभा-काठमाडौँ पत्रकार सङ्घ (एसकाज)ले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा सङ्खुवासभाबाट निर्वाचित मन्त्री खड्काले आज स्रोत र साधनले धनी सङ्खुवासभाको आर्थिक विकासमा ऊर्जा क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे । उनले आफ्नो मुख्यप्राथमिकतामा सङ्खुवासभाको विकास रहेको समेत बताए।

उनले अपर अरुण जलविद्युत आयोजनामार्फत उक्त क्षेत्रका जनताको आर्थिक उन्नति गर्न सकिने समेत उल्लेख गरे । “सङ्खुवासभाबासीको शिर निहुरिन नदिने गरी काम गर्नेछु, म धेरै आशा बाँड्दिन  सङ्खुवासभाको विज्ञतालाई प्रयोग गरी परिणाम दिने गरी काम गर्नेछु”, उनले भने । 

नेपाल सरकारका पूर्वसचिव शारदाप्रसाद त्रितालले आफ्नो विज्ञता प्रयोग गरी ऊर्जा क्षेत्रको विकासमा ध्यान दिन मन्त्री खड्कालाई आग्रह गरे । उनले सङ्खुवासभाको छविलाई उच्च राख्न मन्त्री खड्कालाई शुभकामना समेत दिए । 

सङ्खुवासभा(काठमाडौँ जर्नालिष्ट एसोसिएसनका अध्यक्ष शङ्कर खनालले स्रोत साधनले अत्यन्त धनी सङ्खुवासभाको आर्थिक विकासमा अगाडि बढ्नुपर्नेमा जोड दिए। उनले ऊर्जा र पर्यटन क्षेत्रलाई सँगै जोडेर अगाडि बढ्न सके सङ्खुवासभाको विकासले फड्को मार्न सक्ने उल्लेख गरे ।  

प्रतिक्रिया दिनुहोस