राजनीतिक दलकै कारण वर्तमान व्यवस्थाप्रति जनतामा वितृष्णा बढ्यो : चित्रबहादुर केसी

सफल खबर संवाददाता

शनिबार, ०५ साउन २०८१, १६ : ४७
राजनीतिक दलकै कारण वर्तमान व्यवस्थाप्रति जनतामा वितृष्णा बढ्यो : चित्रबहादुर केसी

बुटवल। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक पार्टीका गतिविधिले गर्दा अहिलेको व्यवस्थाप्रति नै जनतामा वितृष्णा बढ्दै गएको बताएका छन् ।प्रगतिशिल पत्रकार संघले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष केसीले मुलुक असजिलो स्थितिमा रहेको बताए ।

'पोलिटिकल पार्टीकै कारण नागरिकमा लोकतान्त्रिक गणतन्त्रको व्यवस्थाप्रति निराशा देखिएको छ,' उनले भने ।लोकतन्त्रको औचित्य नै छैन भन्ने भाष्य निर्माण भइसकेको उनको भनाइ थियो। 

‘राजनीतिक पार्टीका गतिविधिले जनतामा चरम निराशा आउने अवस्था देखाए,’ अध्यक्ष केसीले भने, ‘देशमा उपलब्धि र परिवर्तन उल्टाउने खतरा बढ्दो छ । परिवर्तनका उपलब्ध रक्षाका लागि एकजुट हुनुपर्ने अवस्था आउन लागेको छ ।’

इमान, सिद्धान्त र जनतालाई केन्द्रमा राखेर राजनीति नभएका कारण यो अवस्था बढ्दै गएको उनले बताए । ‘सत्ता र शक्तिको लागि जस्तोसुकै खेल गर्ने प्रवृत्ति रोकिनुपर्छ । देशमा एउटालाई गलाएर अर्कोलाई खेलाउने खेल भइरहेको छ,’ उनले भने ।

अध्यक्ष केसीले असार १७ गते कांग्रेस र एमालेबीच भएको भनिएको सात बुँदे समझदारी अहिलेसम्म सार्वजनिक नहुनाले शंका पैदा भएको बताए ।