कुलमानलाई बर्खास्त गर्ने ओली सरकारको निर्णय गलत: चित्रबहादुर

सफल खबर संवाददाता

बुधबार, १३ चैत्र २०८१, १२ : १२
कुलमानलाई बर्खास्त गर्ने ओली सरकारको निर्णय गलत: चित्रबहादुर

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गर्ने ओली सरकारको निर्णय गलत भएको जनाएको छ। अध्यक्ष चित्रबहादुर केसीले बुधबार एक विज्ञप्तिमार्फत उक्त निर्णयको भर्त्सना गरेका छन् ।

‘ठुला व्यापारिक घराना र विभिन्न उद्योगहरूको लामो समयदेखि विद्युत् महसुलको बुझाउन बाँकी रहेको बक्यौता रकम असुल उपर गर्न कुलमानले अगाडि बढाएको प्रक्रिया र विद्युत् महसुलको बाँकी बक्यौता नतिर्ने उद्योगी र ठुला व्यापारिक घरानाहरू र सरकारका बिच साँठगाँठ भई त्यसलाई रोक्न वा अवरोध खडा गर्न सरकारले दिइरहेको प्रशासनिक दबाबका बिच लामो समयदेखि द्वन्द्व चलिरहेको थियो’, उनको विज्ञप्तिमा भनिएको छ, ‘ त्यो अन्तरविरोधमा कुलमानले आफ्नो अडानबाट पछाडि नहटेपछि नै सरकारले उनलाई पदबाट बर्खास्त गर्ने गलत निर्णयमा पुगेको हो । त्यसैले सरकारको त्यस्तो गलत कार्यशैलीको हाम्रो दलले विरोध गर्दछ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने निर्णय गरेको थियो । 

प्रतिक्रिया दिनुहोस