उपप्रमुख डंगोलसँग ल्हासा नगरका प्रतिनिधि मण्डलको भेट

सफल खबर संवाददाता

बुधबार, १२ असार २०८१, १२ : २५
उपप्रमुख डंगोलसँग ल्हासा नगरका प्रतिनिधि मण्डलको भेट

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, विश्वव्यापी महामारीका समयमा ल्हासा नगरले उपलब्ध गराएको स्वास्थ्य सामग्री तथा उपकरण जनसाधारणको स्वास्थ्योपचारमा उपयोग भएको बताएकी छिन् । 

ल्हासा नगरको अन्तर्राष्ट्रिय मामिलाका निर्देशक झाछिन्कुनको नेतृत्वमा काठमाडौँ आएको प्रतिनिधि मण्डलसँग भेट गर्दै उपप्रमुख डंगोलले यस विषयमा जानकारी गराएकी हुन् ।

‘काठमाडौँ ल्हासाको अनौपचारिक सम्बन्ध काठमाडौँमा मानव बसोबास सुरु भए देखिको हो ।  यहाँका आदिवासी नेवार समुदायले ल्हासाबाट सुनसहित अन्य सामान ल्याएर व्यापार गर्थे ।’ उनले भनिन, ‘कोभिड १९ को महामारीले आफैँ संकटमा परेका बेला हाम्रो संकट व्यवस्थापन गर्न प्राप्त सहयोगले जनताको स्वास्थ्योपचारमा काम गर्न पाइयो । यसरी दुई नगरबिचको सम्बन्धको लाभ महानगरवासी स्तरमा पुगेको छ ।’

यस्तै प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भाषा फरक भए पनि भाव एउटै भएको उल्लेख गरे । ‘नेपालीमा प्रचलित उखान छ, ल्हासामा सुन छ कान मेरो बुच्चै । यसले ल्हासाको समृद्धि दर्साउँछ । हामीले यो उखान जत्तिकै समृद्ध भएको महसुस गरेका छौँ ।’ उनको भनाइ थियो । 

ल्हासा र काठमाडौँको सम्बन्ध, इतिहास कालदेखिन्कै हो । भेटका क्रममा ल्हासा नगरका अन्तर्राष्ट्रिय मामिला प्रमुखले भने, ‘अनौपचारिक सम्बन्ध भएको समयभन्दा औपचारिक सम्बन्ध भएको समयलाई थप आत्मीय र गाढा बनाउन चाहन्छौँ ।’ भेटका क्रममा उहाँले, दुई नगर बिच अटुट सांस्कृतिक तथा सामाजिक सम्बन्ध रहेको उल्लेख गरे ।  प्रशासन विभागका प्रमुख दिपक अधिकारीका अनुसार काठमाडौँ र ल्हासा नगरका बिचमा सन् २०११ सेप्टेम्बर महिनामा भगिनी सम्बन्ध स्थापना भएको हो ।  

भगिनी सम्बन्ध स्थापना भएपछि ल्हासा नगरले काठमाडौँको सरसफाइ, सुन्दरता, जनस्वास्थ्य प्रणालीलगायत विभिन्न क्षेत्रमा सहयोग गरेको छ । यस्तै १० पटक काठमाडौँको भ्रमण भएको छ । 

काठमाडौँ महानगरपालिकाबाट पनि समय समयमा प्रतिनिधि मण्डलले ल्हासाको सहरी विकास तथा व्यवस्थापनको अवलोकन भ्रमण गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस