मेलमिलापलाई पहिलो प्राथमिकता राखेर विवाद निरूपण गरिरहेका छौँ : सुनिता डंगोल

सफल खबर संवाददाता

शुक्रबार, २५ साउन २०८१, १२ : १५
मेलमिलापलाई पहिलो प्राथमिकता राखेर विवाद निरूपण गरिरहेका छौँ : सुनिता डंगोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले स्थानीय सरकारको माध्यमबाट स्थानीय विवाद निरूपण गर्दा मेलमिलापलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएकी छन् ।

शुक्रवार काठमाडौँमा स्थानीय (वडास्तरीय) विवाद र निरूपणका विषयमा अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले यस्तो बताएकी हुन्। उनले महानगरपालिकाले मेलमिलाप केन्द्रबाट स्थानीय विवाद टुङ्ग्याउँदा मेलमिलापलाई पहिलो प्राथमिकतामा राखेर विवाद निरूपण गरिरहेको जिकिर गरिन् ।

उनले न्याय निरूपण गर्दा अक्षरमा के-के छन् भनेर हेर्ने मात्र नभई व्यवहारिक पक्षलाई हेरेर न्याय निरूपण गरिरहेको दाबी गरिन्। महानगरपालिकाका ३२ वटै वडामा मेलमिलाप केन्द्र सञ्चालनमा रहेको र यसले न्याय निरूपणलाई छिटो, छरितो बनाउनमा पनि महत्त्वपूर्ण भूमिका खेलेको बताइन् ।

एक वर्षमा केन्द्रको न्यायिक समितिबाट ७० प्रतिशत भन्दा धेरै मुद्दाको निरूपण गरेको बताइन्। ७० प्रतिशत भन्दा बढी निरूपण गरिरहँदा प्राथमिकतामा मेलमिलापलाई राखेको उपमेयर डंगोलको भनाइ छ । उपप्रमुख डंगोलले वडादेखि केन्द्रसम्म मेलमिलापबाट समग्रमा ६१ प्रतिशत मेलमिलाप गर्न सफल भएको उनको भनाइ छ।

उनले दिगो रूपमा विवादलाई निरूपण गर्नका लागि मेलमिलाप मात्रै एउटा विकल्प हुनसक्ने पनि बताइन् । उनले अर्को वर्ष ८० प्रतिशत भन्दा बढी मेलमिलापबाट विवाद टुङ्ग्याउने स्थितिसम्म पुग्ने दाबी गरिन् । वडा तहमा मेलमिलाप केन्द्रका माध्यमबाट ९० प्रतिशत भन्दा बढी विवाद समाधान गरिसकेको पनि बताइन् ।

उपप्रमुख डंगोलले न्यायिक समितिले ४३ हजार भन्दा बढी महानगरवासीलाई वडा-वडामा निःशुल्क कानूनी सहायता दिएको बताइन् । एक महिनामा ३२ सय करिब महानगरवासीले निःशुल्क कानूनी सहायता लिएको बताइन्। अबका मुद्दाहरू वडा तहबाटै ई।इजलासबाट तथ्यांक संकलन गर्ने काम सुरु गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस