राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच साँझ भेटवार्ता हुँदै

सफल खबर संवाददाता

सोमबार, ०३ असार २०८१, १३ : १३
राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच साँझ भेटवार्ता हुँदै

काठमाडौं । स्वीट्जरल्याण्डको भ्रमण सकेर संघीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका राष्ट्रपति डा.फ्रैंक वाल्टर स्टीनमेयरबीच आज औपचारिक भेटवार्ता हुँदैछ ।

राष्ट्रपति पौडेल र त्यहाँका राष्ट्रपति स्टीनमेयरबीच आजै साँझ प्रतिनिधिमण्डलस्तरीय औपचारिक भेटवार्ता हुनेछ । उनी समकक्षी स्टीनमेयरको औपचारिक निमन्त्रणामा शनिबार राति बर्लिन पुगेका छन् ।

राष्ट्रपति पौडललाई बर्लिनमा आज जर्मन सरकारका तर्फबाट गार्ड अफ अनर प्रदान गरिने छ । नेपाल र जर्मनीबीच सन् १९५८ अप्रिल ४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यसयता दुई देशबीचको सम्बन्ध मित्रता, आपसी समझदारी र सहयोगका आधारमा बढ्दै गएको छ । दुवै देशले एकअर्काको राजधानीमा आवासीय दूतावास स्थापना गरेका छन् । तर, सन् १९८६ यता राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको यो पहिलो औपचारिक भ्रमण हो ।

परराष्ट्र मन्त्रालयका अनुसार नेपालले ५ जुलाई १९६५ मा बर्लिनमा आफ्नो दूतावास स्थापना गरेको थियो । जर्मनीले  काठमाडौँमा सन् १९६३ मा आफ्नो दूतावास स्थापना गरेको हो । सन् २०१८ मा दुई देशबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सव मनाउन जर्मनी र नेपालमा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो ।

विभिन्न तहमा भएका भ्रमण आदानप्रदानले दुई देशबिचको घनिष्ठ र सौहार्दपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन योगदान पुर्‍याएको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बताए ।

तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्याले सन् १९८६ अक्टोबरमा जर्मनीको भ्रमण गरेका थिए । त्यस्तै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सन् १९९५ फेब्रअरी र सन् २००० सेप्टेम्बरमा तथा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले सन् १९९५ अप्रिलमा जर्मनीको भ्रमण गरेका थिए ।

यसैगरी, तत्कालीन उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री माधवकुमार नेपालले सन् १९९५ फेब्रुअरी र तत्कालीन परराष्ट्रमन्त्री उपेन्द्र यादवले सन् २००९ मार्चमा जर्मनीको भ्रमण गरेका थिए ।

यसैगरी नेपाल लगानी वर्ष २०१२ को सन्दर्भमा तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सन् २०१२ फेब्रुअरी २८ मा जर्मनीको भ्रमण गरेका छन् ।त्यस्तै जर्मनीका तत्कालीन राष्ट्रपति हाइनरिक ल्युब्केले सन १९६७ र राष्ट्रपति प्रा. रोमन हर्जोगले सन् १९९६ मा नेपाल भ्रमण गरेका थिए । जर्मन संसदकी उपाध्यक्ष क्लाउडिया रोथले अप्रिल २०१७ मा नेपाल भ्रमण गरेका थिए ।

टोबियास फ्लुगरको नेतृत्वमा जर्मनीको संसदीय प्रतिनिधिमण्डलले सन् २०१९ मार्च १ देखि ५ सम्म नेपालको औपचारिक भ्रमण गरेको थियो। जर्मनीकी प्रथम महिला एल्के बुडेनबेन्डरले फेब्रुअरी २०२० को पहिलो साता युनिसेफको संरक्षकको हैसियतमा नेपाल भ्रमण गरेका थिए ।

अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ अधिवेशनमा भाग लिन गत जेठ ३० वीट्जरल्याण्डको जेनेभा पुग्नुभएका राष्ट्रपति पौडेलले यही असार १ गतेदेखि जर्मनीको औपचारिक भ्रमणमा छन् । उनी असार १ गते जेनेभाबाट जर्मनीको बर्लिन प्रस्थान गरेका थिए ।