राष्ट्रपति पौडेलद्वारा ५ वटा ऐन प्रमाणीकरण

सफल खबर संवाददाता

सोमबार, १८ चैत्र २०८१, १९ : ५४
राष्ट्रपति पौडेलद्वारा ५ वटा ऐन प्रमाणीकरण

काठमाडौँ । संघीय संसद्ले एकै दिनमा विभिन्न ५ वटा ऐन बनाएको छ ।

राष्ट्रिय सभामा पाँच वटा विधेयकमाथि दफावार छलफल भयो । दफावार छलफलपछि पाँच वटै विधेयक क्रमशः पारित भए ।

सोमबार सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले सभामा प्रस्तुत गरेका थिए ।

बाँकी तीन वटा विधेयक अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेका थिए । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, निजीकरण (पहिलो संशोधन) विधेयक र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक सोमबार राष्ट्रिय सभाबाट पारित भएको हो ।

राष्ट्रिय सभाबाट पारित पाँच वटै विधेयकको सन्देश सोमबार नै प्रतिनिधि सभामा टेबुल भयो । राष्ट्रिय सभाबाट पारित भएर गएको विधेयकका लागि प्रतिनिधि सभाको दोस्रो बैठक बसेको थियो ।

प्रतिनिधि सभाको दोस्रो बैठकमा पाँच वटै विधेयक राष्ट्रिय सभाबाट पारित भएको सन्देश टेबुल गरिएको हो । यो सँगै संघीय संसद्का दुवै सदनले पाँच वटा विधेयक पारित गर्ने प्रक्रिया पूरा गरे ।

सभामुखले पनि सोमबार नै राष्ट्रपतिकहाँ पठाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले पनि सोमबार नै ती विधेयकहरू प्रमाणीकरण गरे । यो सँगै ५ वटा विधेयक ऐनको रूपमा रूपान्तरित भएको हो ।

 
 

प्रतिक्रिया दिनुहोस