आम नागरिकका स्वास्थ्यमा समान पहुँच पुर्‍याउन आवश्यक : राष्ट्रपति पौडेल

सफल खबर संवाददाता

मंगलबार, २० फागुन २०८१, १३ : ४५
आम नागरिकका स्वास्थ्यमा समान पहुँच पुर्‍याउन आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्‍याउन र स्वास्थ्य सेवाको गुणस्तर वृद्धिमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।

नेपाल चिकित्सक संघद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रले दक्ष र विज्ञ चिकित्सक उत्पादनमा गरेको लगानी संविधानको भावना र मर्मअनुसार भएको बताए । उनले भने, “संविधानको भावना र मर्मलाई आत्मसात गर्दै चिकित्सकले यो पेशालाई सेवा भावका दृष्टिकोणले हेर्नु हुनेछ भन्ने विश्वास लिएको छु ।”

राष्ट्रपति पौडेलले नेपाली जनताको संघर्ष, त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले नेपाली नागरिकलाई स्वास्थ्य, शिक्षाजस्ता आधारभूत आवश्यकता पुरा गर्ने हक सुनिश्चित गरेको स्पष्ट पारे ।

उनले दूर दराजमा अझै नागरिकले उपयुक्त स्वास्थ्य सेवा प्राप्त गर्न नसकिरहेकाले यो अवस्थालाई गम्भीरतापूर्वक लिएर दक्ष चिकित्सकको सेवा पुर्‍याउन आवश्यक रहेको बताए। उनले भने, “आजको यस विशेष अवसरमा सबैलाई आ-आफ्नो क्षेत्रबाट स्वास्थ्य क्षेत्रको समग्र विकासमा योगदान पुर्‍याउन म आह्वान पनि गर्दछु ।”

राष्ट्रपति पौडेलले हाल देशको स्वास्थ्य शिक्षा अब्बल हुँदै दक्ष र विज्ञ चिकित्सक नेपालमै उत्पादन हुनु सुखद पक्ष भएको बताए । उनले नेपालमै स्तरीय स्वास्थ्य सेवा तथा उपचार हुन थालेको आफैँले अनुभव गरेको उल्लेख गरे । राष्ट्रपति पौडेलले देशको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार गर्न तथा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न आगामी दिनमा नेपाल चिकित्सक संघको भूमिका अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

सो अवसरमा लिजेन्ड ईन मेडिसिनबाट डा. गौरीशंकरलाल दास, डा. मृग्रेन्द्रराज पाण्डे, डा. दिनेशनाथ गंगोल, डा. डिबि कार्की र डा. सरस्वती पाध्येयलाई राष्ट्रपति पौडेलले सम्मान गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस