काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा र संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हान्ना सिंगर हेम्डीबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री कार्यालय दाङ देउखुरीमा भएको भेटवार्तामा मुख्यमन्त्री महराले संयुक्त राष्ट्रसंघले नेपालमा गरेका कार्यक्रमहरू प्रशंसनीय रहेको बताए ।
नेपालको शान्ति प्रक्रियामा अनमिनले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै महराले दिगो विकासमा संयुक्त राष्ट्रसंघले गरेका कार्यक्रमहरू सन्तोषजनक रहेको जानकारी बताएका थिए ।
लुम्बिनी प्रदेश सरकारले प्रविधिको माध्यमबाट कृषि, स्वास्थ्य, शिक्षा, रोजगार, पूर्वाधार र सांस्कृतिक क्षेत्रमा विकास गर्न खोजेको भन्दै मुख्यमन्त्री महराले सहयोगको अपेक्षा गरे ।
उनले नेपालका भूमिहीन, सुकुमबासी र असहायको पक्षमा प्रदेश सरकारले आफ्ना नीति तथा कार्यक्रमबाट सम्बोधन गर्ने प्रयास गरेको भन्दै सहकार्यका लागि संयुक्त राष्ट्रसंघलाई आग्रह गरे ।
लुम्बिनी प्रदेशका १०९ स्थानीय तहमा वातावरणमैत्री र हरियालीयुक्त आधुनिक सहरको योजना निर्माणमा प्रदेश सरकार संयुक्त राष्ट्रसंघसँग सहकार्य गर्न इच्छुक रहेको महराले बताए ।
आवासीय संयोजक हान्ना सिंगर हेम्डीले संयुक्त राष्ट्र संघको शान्ति मिसनमा नेपाली सैनिकको मूल्याङ्कन उच्च रहेको भन्दै नेपाली महिला सैनिकहरूको सहभागिताको पनि प्रशंसा गरिन् ।
उनले सीमान्तकृत समुदाय, भूमिहीन, मुक्त कमैया र सुकुमबासीका विषयमा नेपालको संविधान विश्वमा उत्कृष्ट रहेको भन्दै उनीहरूको जीवनस्तर माथि उकास्नका लागि प्रदेश सरकारले प्रभावकारी काम गर्नुपर्ने सुझाव दिइन् ।
संविधानको मर्मअनुसार भूमि आयोगले सीमान्तकृत समुदाय, भूमिहीन, मुक्त कमैया र सुकुम्बासीका पक्षमा काम गरोस् भन्ने पक्षमा संयुक्त राष्ट्रसंघ रहेको हेम्डीले बताइन् ।
अति कम विकसितबाट विकासशील मुलुकमा स्तरोन्नति हुने क्रममा नेपालले प्रशंसायोग्य प्रगति गरेको भन्दै संयोजक हेम्डीले विकासका लागि वित्त परिचालन, जलवायु, सुशासन र सामाजिक सेवामा क्षमता अभिवृद्धि गर्नमा संयुक्त राष्ट्रसंघका एजेन्सीहरूले नेपाललाई सहयोग गर्ने जानकारी दिइन् ।
लुम्बिनी प्रदेशको सांस्कृतिक धरोहरको रूपमा रहेको बुद्ध जन्मस्थल लुम्बिनी संयुक्त राष्ट्रसंघको प्राथमिकतामा रहेको भन्दै हेम्डीले विश्व सम्पदा सूचीमा सूचिकृत लुम्बिनीको थप विकासमा सबैको सहकार्यको आवश्यकता रहेको बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ असार २०८१, १४ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकी र लुम्बिनी प्रदेश जोड्ने पुल निर्माण अन्तिम चरणमा
कर्णालीविरुद्ध टस जितेर बलिङ गर्दै लुम्बिनी
लुम्बिनीमा विपद्बाट पाँच करोडभन्दा धेरैको क्षति
लुम्बिनीका कांग्रेस सांसद केसी रकम भुक्तानी गरेर रिहा
लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्री लीला गिरी बन्ने
लुम्बिनीका मुख्यमन्त्री महराले आइतबार विश्वासको मत लिने