बुटवल। लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्म २४ प्रतिशत मात्र बजेट खर्च गरेको छ। जसमध्ये पूँजीगततर्फ २२.८३ प्रतिशत र चालुतर्फ २८.४७ खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अर्धवार्षिक समीक्षा कार्यक्रममार्फत् जानकारी दिएको छ ।
समीक्षा कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चालु आर्थिक वर्षमा विनियोजन भएको पूँजीगत बजेटको कार्यान्वयन र भुक्तानीलाई विशेष ध्यान दिन मातहतका निकायलाई निर्देशन दिए ।
मुख्यमन्त्री आचार्यले पूँजीगत खर्च बढाउन र सम्पन्न आयोजनाहरूको भुक्तानी अविलम्ब गर्न निर्देशन दिएका हुन् । प्रदेश सरकारले पूँजीगत खर्च गर्न नसकेको भन्ने आलोचनालाई चिर्न खर्चलाई प्रभावकारी रूपमा बढाउनुपर्नेमा उनको जोड छ ।
‘वैशाख महिनालाई अन्तिम भुक्तानीको महिना बनाउन सक्ने हो भने धेरै समस्या हल भएर जान्छन्’, मुख्यमन्त्री आचार्यले भने,‘अन्य प्रदेशको तुलनामा माघ मसान्तसम्म लुम्बिनी प्रदेशको पूँजीगत खर्च सबैभन्दा राम्रो छ । तर, यसलाई निरन्तरता दिनेगरी काम गरौं ।’
संघीय सरकारबाट प्राप्त समानीकरण, सशर्त तथा विशेष अनुदानका कार्यक्रम कार्यान्वयनमा विशेष ध्यान दिनुपर्नेमा उनले बताए । ‘संघबाट प्राप्त भएको बजेट कार्यान्वयन नभएमा फिर्ता जान्छ, त्यसैले हामीले यसलाई फिर्ता नहुने गरी कार्यान्वयन गर्न जोड दिनैपर्छ’, मुख्यमन्त्री आचार्यले भने ।
मुख्यमन्त्री आचार्यले टुक्रे आयोजना निरुत्साहित गर्न योजना छनोटमा कठोर बन्नुपर्ने धारणा राख्दै प्रदेश सरकारले बहुवर्षीय आयोजनालाई प्राथमिकता दिने स्पष्ट पारे।‘हामीले टुक्रे आयोजनालाई निरुत्साहित गर्न बहुवर्षीय आयोजनालाई प्राथमिकतामा राख्नुपर्छ। राजनीतिक तहबाट पनि यसबारे छलफल अघि बढाउनुपर्छ’,उनले भने ।
लुम्बिनीमा चालु आवमा ३८ अर्ब ९७ करोड बजेट विनियोजन गरिएको थियो । जसमा पूँजीगततर्फ २४ अर्ब ५८ करोड र चालुतर्फ ११ अर्ब २४ करोड विनियोजन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ फागुन २०८१, १६ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
गण्डकी र लुम्बिनी प्रदेश जोड्ने पुल निर्माण अन्तिम चरणमा
कर्णालीविरुद्ध टस जितेर बलिङ गर्दै लुम्बिनी
लुम्बिनीमा विपद्बाट पाँच करोडभन्दा धेरैको क्षति
लुम्बिनीका कांग्रेस सांसद केसी रकम भुक्तानी गरेर रिहा
लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्री लीला गिरी बन्ने