मन्त्री तामाङद्वारा ग्लान थातथलोको अवलोकन

सफल खबर संवाददाता

आइतबार, २७ जेठ २०८१, ११ : ५५
मन्त्री तामाङद्वारा ग्लान थातथलोको अवलोकन

नुवाकोट । संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री हितबहादुर तामाङले ग्लान बंशको थातथलोको अवलोकन गरेका छन । मन्त्री तामाङले नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नं। ४ बेतिनिस्थित ग्लान वंशको थातथलो नाम्सापुरान पुगेर अवलोकन गरेका हुन । मन्त्री तामाङले आफ्नै वंशको थातथलो पुगेर नाम्सापुरानलाई पहिचानको रुपमा ग्लान सांस्कृतिक सङ्ग्राहलय बनाउने उद्घोष गरे ।

मन्त्री तामाङले यो वर्षको बजेटमार्फत त्यस स्थानमा सङ्ग्राहलय बनाउन ग्लान समाजको संयोजनमा ‘ग्लान उद्गमथलो ङारदिम संरक्षण तथा प्रवर्द्वन केन्द्र’ शिर्षकमा ९० लाख रुपैयाँ बजेटसमेत विनियोजन गरेका हुन् ।

यसैगरी बागमती जिल्ला समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित ग्लानले यसको ठाउँको संस्कृति जोगाउनुपर्ने बताए । उनले भने, ‘ग्लानहरुले खोज्दै आउँदा ग्लानको थातथलोमा आफ्नै संस्कृति पाउनुपर्छ, त्यसको लागि जोगाउनुपर्छ। ’

थातथलो अवलोकनको क्रममा बागमती प्रदेश पूर्व सांसद ओमबहादुर ग्लानले यस थातथलोलाई चिनाउनका लागि मन्त्रीले बजेट विनियोजन गरेकोमा धन्यवाद दिँदै थातथलोलाई सबैले विर्सन नहुने बताए ।

त्यस्तै बेतिनी डाँडामा निर्माणाधीन डम्फु पार्क र कुदाप क्याबा ९चुल्हो० डाँडा पर्यटकको आकर्षण थलो बनेको छ । यस्तै गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापाले भाषा, संस्कृति र थातथलो पहिचान गर्दै गर्दा त्यस स्थानबाट छुटेर गएका अन्य ग्लानहरुलाई थप सहजीकरणसमेत हुने बताए ।

त्यस्तै पालिकाकी उपाध्यक्ष माकुरी तामाङले नेपालभरि छरिएर रहेका ग्लान समुदायले उद्गमथलोलाई खोजी गर्ने अभियानमा लागेकोमा खुशी व्यक्त गरे । गाउँपालिकाका पूर्वअध्यक्ष योविन्द्रसिंह तामाङले ग्लानको थातथलोको पहिचान र पालिकाकै पर्यटनको आकर्षण र पछिल्लो पुस्तालाई थातथलो बुझाउन डम्फु पार्क र कुदाप क्याबा निर्माण गरिएको बताए ।

आउँदो वर्षमा यसै थलोमा ग्लानको सामुहिक राष्ट्रिय भेला गर्ने उनले वचनबद्वता गरे । छरिएर रहेका ग्लानहरुलाई उद्गमथलोसम्म ल्याइपुर्‍याउने वातावरण सिर्जना गर्नुपर्ने उनको भनाई छ ।
 

प्रतिक्रिया दिनुहोस