काठमाडौँमा रुख, पोल, मठमन्दिर, पार्क, रेष्टुरेन्टजस्ता ठाउँबाट रङ्गीचङ्गी बत्तीको प्रयोग हटाउन सिफारिस

सफल खबर संवाददाता

शुक्रबार, २५ जेठ २०८१, १० : ३७
काठमाडौँमा रुख, पोल, मठमन्दिर, पार्क, रेष्टुरेन्टजस्ता ठाउँबाट रङ्गीचङ्गी बत्तीको प्रयोग हटाउन सिफारिस

काठमाडौँ । सुन्दरता र सजावटका लागि सडक किनारा, रुख, पोल, मठमन्दिर, ढुङ्गेधारा सार्वजनिक तथा होटल, रेष्टुरेन्ट, क्लवजस्ता व्यवसायिक स्थानमा राखिएका रङ्गीचङ्गी बत्ती हटाउन ‘सहरी बन र सडक छेउ खम्बामा बेरिएका बत्तीको असर अध्ययन कार्यदल’ले सुझाव दिएको छ । 

काठमाडौँ महानगरपालिका, सहरी योजना आयोगका सदस्य सरस्वती मानन्धरको संयोजकत्वमा गठन भएको अध्ययन कार्यदलले यस्तो सुझावसहितको सिफारिस गरेको हो।  कार्यदलले उपप्रमुख सुनिता डंगोललाई प्रतिवेदन बुझाउँदै शिफारिसका विषयमा जानकारी गराएको हो । 

गएको वैशाख २५ गते बसेको अनुगमन समितिको बैठकमा सजावटलागि राखिएका बत्तीले जनस्वास्थ्य, वातावरण र सहरी व्यवस्थापनमा नकारात्मक असर पारेको विषय उठान भएपछि अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको थियो । यसका आधारमा मानन्धरको संयोजकत्वमा गठित समितिको सदस्यमा उद्यान तथा हरियाली प्रवर्धन आयोजनाका प्रमुख नवराज थापा, महानगरपालिकाका ट्राफिक विज्ञ जगतमान श्रेष्ठ, सार्वजनिक निर्माण विभागका इलेक्ट्रिकल इञ्जिनियर पदमराज पौडेल थिए ।  यसैगरी वातावरण इञ्जिनियर निशा कोइराला सदस्य सचिव थिए ।

समितिले अध्ययनका क्रममा नेपाल आँखा अस्पतालका नेत्र विशेषज्ञ डा. इन्दूप्रसाद ढुङ्गेल, त्रिभुवन विश्वविद्यालयको प्राणी शास्त्र केन्द्रीय विभागका जीवशास्त्री सहप्राध्यापक डा. हरिप्रसाद शर्मा र हिमालय नेचरका चराचुरुङ्गीविज्ञ सन्देश गुरुङसहितको टोलीमा सहभागी गराएको थियो । 

प्रतिवेदन बुझिसकेपछि उपप्रमुख डंगोलले भनिन्, ‘सहरमा झिलीमिली बत्ती राख्ने विषयमा निर्णय गर्न र थप वैज्ञानिक अध्ययन गर्न आधार तयार भएको छ । प्रतिवेदनको थप अध्ययन गरेर निर्णय गर्छौँ ।’

अध्ययन समितिलाई सजावटका लागि रुख, विरुवासहितका संरचनामा बेरिएका वत्तीको गुणस्तर र प्रकृति, सवारी आवागमनमा यस्ता बत्तीले पार्ने असर, मानव दृष्टि (आँखा) मा असर, चराचुरुङ्गी र पर्यावरणमा पर्ने असर, धार्मिक तथा सांस्कृतिक मूल्य मान्यताको अध्ययन विश्लेषण गर्ने कार्य क्षेत्र दिइएको थियो । 

अध्ययनबाट सवारी आवागमन, जनस्वास्थ्य र पर्यावरणमा असर देखिने भए सजावटको विकल्प, बत्ती हानीकारक छन् भने वत्तीको प्रकृति र गुणस्तर परिवर्तन गरेर राख्न मिल्छ कि हटाउनुपर्छ, सुझाव दिन समितिले जिम्मेवारी पाएको थियो । यसबमोजिम समितिले जीवशास्त्री, प्राणीशास्त्री, चराचुरुङ्गी विज्ञलाई सहभागी गराएर अध्ययन गरेको हो । 

अध्ययनले ७ बुँदामा सुझाव दिएको छ । त्यसको पहिलो बुँदामा रुख, खम्बा, निजी घर, पुराना संरचना, पार्क, पार्टी प्यालेस, रेस्टुरेन्ट, सांस्कृतिक सम्पदा, ढुङ्गेधाराजस्ता सार्वजनिक स्थलहरुमा राखिएका स्ट्रिप बत्ती, रोप बत्ती, रंगीन सजावटी बत्ती, एलईडी स्ट्रिङ बत्तीलाई जात्रा, चाडपर्व र विशेष अवसरबाहेक हटाउनुपर्ने सुझाव दिइएको छ । 

सडक बत्तीको लागि मापदण्डअनुसार एलइडी लाइट राख्नु पर्ने, बाहिरी बत्ती प्रयोग गर्दा यही मापदण्डअनुसारका वैकल्पिक बत्ती जडान गर्नु पर्ने, प्रकाशबाट हुने प्रदुषण, उत्तरदायी प्रकाशको प्रयोगका लागि निश्चित र स्थायी रुपमा रहने प्रणाली स्थापनाका लागि सरोकारवाला, इलेक्ट्रिक व्यवसायी, वातावरण क्षेत्रसँग सहकार्य गरेर प्रदुषण घटाउन सकिने सुझावमा उल्लेख छ ।
 

प्रतिक्रिया दिनुहोस