प्रदेशसभा बैठकमा सहभागी हुने कांग्रेस दलको निर्णय

सफल खबर संवाददाता

सोमबार, २१ जेठ २०८१, १४ : १०
प्रदेशसभा बैठकमा सहभागी हुने कांग्रेस दलको निर्णय

विराटनगर । कोशी प्रदेश नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रदेशसभाको बैठकमा सहभागी हुने निर्णय गरेको छ । दलका नेता उद्धव थापाले पत्रकार सम्मेलन गरी निर्णय सार्वजनिक गरेका हुन् ।  थापाले जारी गरेको विज्ञप्तिमा सरकार गठन प्रक्रिया अवैधानिक भएको भन्ने नेपाली कांगेस कोशी प्रदेश संसदीय प्रस्तुत गर्दै आएको धारणा यथावत् रहेको उल्लेख छ । 

यद्यपि अदालती प्रक्रियाबाट उक्त मुद्दा टुङ्ग्याउन अनिश्चित समय लाग्ने देखिएको तर यस प्रदेशमा सरकारका तर्फबाट नीति तथा कार्यक्रम एवम् बजेट पनि प्रस्तुत गर्ने समय सीमालाई मध्यनजर गरी दलले बैठकमा सहभागी हुने निर्णय गरेको थापाले बताए ।

‘मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा जनताको जनजीविकाको सवालहरू प्रदेश सभा मार्फत सम्बोधन गर्नुपर्ने विषयलाई प्राथमिकतामा राख्दै प्रदेशको विकास निर्माण र सम्वृद्धिका लागि सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम र बजेट जनहितमा छ, छैन भनी खबरदारी गर्नुपर्ने महत्त्वपूर्ण सवाल र समयलाई समेत आत्मासाथ गर्दै दल प्रस्तुत हुनुपर्ने ठहर गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ, ‘अदालतमा विचाराधीन मुद्दामा दलले प्रस्तुत गर्दै आएको धारणा र दृष्टिकोणलाई कानुनी आधारमा पुष्टि गर्ने दृढ सङ्कल्पका साथ संसदीय पद्धति र प्रणालीबाट नै समस्याको समाधान खोज्ने र जनताका आवाजहरू मुखरित गर्ने निष्कर्ष निकाल्दै प्रदेशसभा बैठकमा सहभागी हुने निर्णय गर्दछ ।’

कांग्रेस का प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जनताको मुद्दालाई विधिसम्मत उठाउनका लागि यस्तो निर्णय गरिएको उनले बताए ।

 

k-s

 

प्रतिक्रिया दिनुहोस