८ हजार मिटरमाथिका हिमाल चढिसकेपछि मात्रै सगरमाथा चढ्न पाउने मापदण्ड बनाऔं : मुख्यमन्त्री कार्की

सफल खबर संवाददाता

बुधबार, १६ जेठ २०८१, ११ : ३४
८ हजार मिटरमाथिका हिमाल चढिसकेपछि मात्रै सगरमाथा चढ्न पाउने मापदण्ड बनाऔं : मुख्यमन्त्री कार्की

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आठ हजार माथिका अरु हिमालहरु आरोहण गरिसकेपछि मात्रै सगरमाथा आरोहण गर्न पाउने मापदण्ड बनाउनुपर्ने बताएका छन् ।

बुधवार काठमाडौंमा आयोजित ७१ औं सगरमाथा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ६ हजार मिटरको हिमाल चढेपछि मात्र सगरमाथा चढ्न पाइने व्यवस्था हटाई ८ हजार मिटर माथिका हिमाल आरोहण गरेपछि मात्र सगरमाथा आरोहण गर्न पाउने मापदण्ड बनाउनुपर्ने बताएका हुन् ।

उनले सगरमाथासहितका हिमालहरुको संरक्षणमा आवश्यक पहलकदमी हुन नसकेको बताए । जलवायु परिवर्तनको चपेटामा नेपाल परेको उल्लेख गर्दै उनले आरोहणलाई नियमन गर्न जरुरी रहेको बताए ।

मुख्यमन्त्री कार्कीले भने, ‘जलवायु परिवर्तनको चपेटामा आज हाम्रो देश पनि अछुतो रहेन । हामीले वन क्षेत्रको संरक्षणमा उल्लेख्य उपलब्धि हाँसिल गरेका छौँ । यसले हाम्रो पर्यावरणलाई धेरै हदसम्म राहत दिएको छ । तर हामीसँग भएका हिमालहरुका सन्दर्भमा जे जति पहलकदमी लिनुपर्ने हो, त्यो गर्न सकिरहेका छैनौँ ।’

‘हिमालहरुलाई प्राकृतिक रुपमा जस्तो अवस्थामा छ, त्यस्तै कायम राख्ने हो भने एउटै मात्र उपाय हो आराम दिने, यसको मापदण्डलाई व्यवस्थित बनाउन जरुरी छ । अहिलेको ६ हजार मिटरको हिमाल चढेपछि सगरमाथा चढ्न पाइने व्यवस्था छ । अब ८ हजार मिटर माथिको हिमाल आरोहण गरेपछि मात्र सगरमाथा आरोहण गर्न पाउने मापदण्ड बनाउनु पर्छ,’ मुख्यमन्त्री कार्कीले भने ।त्यसो हुँदा मात्र आठ हजार मिटर माथिका हिमालहरुको संरक्षण हुने र जनताको अर्थिक अवस्थामा सुधार हुने मुख्यमन्त्री कार्कीको धारणा छ ।

 

प्रतिक्रिया दिनुहोस