गृहमन्त्रीको व्यवहारले नयाँ पार्टीको भ्रष्ट चरित्र प्रष्ट भयो : चित्रबहादुर केसी

सफल खबर संवाददाता

सोमबार, ०७ जेठ २०८१, १३ : १८
गृहमन्त्रीको व्यवहारले नयाँ पार्टीको भ्रष्ट चरित्र प्रष्ट भयो : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको व्यवहारले नयाँ राजनीतिक शक्तिको भ्रष्ट चरित्र प्रष्ट भएको बताएको छ । सहकारीको वचत रकम अपचलनको आरोप लागेपछि गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने राष्ट्रिय जनमोर्चाको माग छ ।

तर गृहमन्त्रीले ‘विगतमा अरूले बदमासी गरेका कारण मैले पनि गर्न पाउनुपर्दछ’ भनी सहकारी ठगी प्रकरणलाई न्यायोचित देखाउन संसदमा बलमिच्याइँ गरेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बताए ।

‘विगतमा अरूले बदमासी गरेका कारण मैले पनि गर्न पाउनुपर्दछ भन्ने उनको दाबीले कथित नयाँ शक्तिहरूको भ्रष्ट चरित्र तथा सत्ताका लागि जे पनि गर्न पछि नपर्ने सत्ता महत्वाकाङ्क्षा झन् नाङ्गो रूपमा अगाडि आएको छ’, केसीले विज्ञप्तिमा भनेका छन् ।

सहकारीको वचत रकम अपचलनमा गृहमन्त्रीमाथि छानबिन गर्न सत्तापक्ष डराएको भन्दै केसीले भनेका छन्, ‘प्रतिपक्षीहरूले उठाएको संसदीय छानविन समितिको मागलार्ई सत्तापक्षले आफ्नो सरकार ढाल्ने अस्त्रको रूपमा लिएको गलत बुझाइका कारण नै संसदको गत्यावरोध लम्बिइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस