काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीकी प्रतिनिधिसभा सांसद गीता बस्नेत जोडिएको सहकारी बचत हिनामिना प्रकरणमा स्वतन्त्र छानबिन गर्न सरकारलाई आग्रह गरेको छ ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सांसद बस्नेतमाथि सरकारको जिम्मेवार निकायबाट निष्पक्ष छानबिन हुनुपर्ने माग गरेको हो । सांसद बस्नेत सञ्चालक रहेको कम्पनीबाट सहकारीको बचत अपचलन भएको विषय सार्वजनिक भएपछि राप्रपाले छानबिनमा सहयोग गर्न सांसद बस्नेतलाई निर्देशनसमेत दिएको छ ।
‘राप्रपाकी प्रतिनिधि सभा सदस्य गीता बस्नेतको कम्पनीबाट सहकारीको रकम अपचलन भएको भन्ने विषय सञ्चारमाध्यममा सार्वजनिक भएकामा सोसम्बन्धी छानबिनमा सघाउ पुर्याउन निजलाई निर्देशन दिइयो । साथै, उक्त घटनाका विषयमा नेपाल सरकारको जिम्मेवार निकायबाट निष्पक्ष छानबिन गर्न र सहकारीको रकम अपचलन सम्बन्धित त्यस्तै प्रकारका घटनामा संलग्न अन्य व्यक्तिहरूमाथि पनि स्वतन्त्र छानबिन गर्न राप्रपा सरकारसँग माग गर्दछ,’ प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
चितवनको सनराइज, पूर्वी नवलपरासी (नवलपुर) को छिपछिपे र बर्दियाको नमस्ते सहकारीबाट १६ करोड ५८ लाख रुपैयाँ बिनाधितो ऋण लिएर आफ्नो समूहको रिसोर्टमा लगानी गरेको आरोपमा सांसद बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नवलपुर जिल्ला प्रहरीको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले अघि बढाएको प्रक्रियाअनुसार जिल्ला अदालतले सांसद बस्नेतसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ बैशाख २०८१, १३ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाको बृहत् भण्डाफोर कार्यक्रम आजबाट
पूर्वराजाको आह्वानपछि राप्रपाले बोलायो कार्यसम्पादन बैठक, राणाले गरे दीप प्रज्ज्वलनको उर्दी
राप्रपाले चाँडै कार्यसम्पादन समिति बैठक राख्नुपर्छ : डा लोहनी
लिङ्देनले लिखित राजनीतिक कार्यपत्र पेश नगरेकोमा राप्रपा बैठकमा आलोचना
राप्रपाको केन्द्रीय समिति बैठक आज पनि जारी
राप्रपाको केन्द्रीय समिति बैठक आजबाट