काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा गर्ने सम्वोधनका बेला हराउने गरेका प्रधानमन्त्री केपी ओलीलाई अहिले प्रचण्डको आवश्यकता पर्न थालेको छ ।
सरकारमा रहँदा प्रभावकारी काम गर्न चुकिरहेका ओलीले अहिले संक्रमणकालीन न्यायका बारेमा अवरुद्ध प्रक्रिया अघि बढाउने नाममा प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डको खोजी गरेका हुन् ।
सरकारको ग्राफ निरन्तर ओरालो लागेका बेला ओलीले आफनो साख बचाउन टिआरसीलाई टेक्ने माध्यम बनाउन चाहिरहेका छन् । टिआरसी टुग्गो लगाउन माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरवहादुर देउवासम्मको साझा समझदारी जुटाउनु पर्ने हुन्छ । त्यसैलाई टेको बनाउन ओलीले अहिले प्रचण्डमाथी बेलायती एक जना लेखकले टिआरसीमा अन्तराष्टिय अदालत जाने गरि लविङ गरिरहेको भन्दै दवाव बढाउन चाहिरहेका छन् ।
प्रचण्ड शान्ति प्रक्रिया टुंग्गोमा लैजान संक्रमणकालिन न्यायका विषय छिटो पार लगाउने पक्षमा छन् । तर ओली नेतृत्वको सरकार र स्वयम ओलीले यो विषयलाई बेला बेला बार्गेनिङ टुल्सको रुपमा प्रयोग गर्न थाल्ने, बेलाबेला अड्काउने सम्म गरेका कारण निश्कर्षमा पुग्न सकिरहेको छैन । अहिले भने ओलीले प्रचण्डलाई यही टिआरसीका विषयमा फेरि खोजी थालेका छन् ।
बेलायती एक जना लेखक थोमस बैलले नेपालको संक्रमणकालिन न्यायका विषयमा अन्तराष्टिय अदालत जाने भनी लविङ गरिरहेकोले टिआरसीका विषयमा छलफल गरेर टुंग्गोमा पुग्न भन्दै ओलीले प्रचण्डमाथी दवाव बढाउन खोजेका छन् । त्यसैका लागि प्रधानमन्त्री ओलीका संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल खुमलटार नै दुई पटक पुगिसकेका छन् ।
६ चैतमा नै प्रमुख तीन दलका शीर्ष नेताहरुका बीचमा छलफल गर्ने तयारी गरेपनि बैठक बस्न सकेको थिएन । आज भने प्रमुख तीन दलका नेताहरुको बैठक बस्न लागेको छ ।
बैठकमा संक्रमणकालीन न्यायकै विषयवस्तु केन्द्रीत रहेर छलफल हुन लागेको हो । ‘यसअघि सर्च कमिटि गठन भएपछि काम हुन सकेन, त्यसको म्याद सकिएपछि सबै प्रक्रिया अवरुद्ध छ,’ पूर्वमहान्यायाधीवक्ता समेत रहेका खरेलले भने, ‘अस्ति जहाँबाट प्रक्रिया रोकिएको थियो, त्यसलाई अघि बढाउनेबारे छलफल गर्न बैठक डाकिएको हो । बाँकी कुरा उहाँहरूले अघि बढाउनुहुन्छ होला ।’
संक्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधनपछि सरकारले सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका अध्यक्ष र सदस्यहरू छनोट गर्न समिति गठन गरेको थियो ।
पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको समितिले आवेदन आह्वान गर्ने, सूची बनाउने र आवेदकहरूसँग अन्तर्वार्ता गर्ने लगायतका प्रक्रिया पूरा गरेपनि उनीहरूको नाम सिफारिस गर्न सकेको थिएन ।
कुनै निर्णय गर्न नसकेका बेला समितिको म्याद सकिएपछि सबै प्रक्रिया अवरुद्ध भएको थियो । ‘संक्रमणकालीन न्याय छिटो टुंग्याउने विषय हो, यसलाई लम्ब्याउनु हुँदैन भन्नेमा सबै नेताहरु एकमत देखिनुहुन्छ,’ खरेलले भने, ‘तर त्यो समितिको म्याद सकिएपछि अरू प्रक्रिया अघि नबढेकाले प्रक्रिया अवरुद्ध भयो, त्यसलाई गति दिनुपर्छ भनेर बैठक बोलाइएको हो ।’
कांग्रेस एमाले सरकार बनेयता ओली र प्रचण्डका बीचमा खास सम्वाद हुन सकिरहेको छैन । प्रचण्ड नेतृत्वको सरकारले भष्टाचारका विरुद्द अभियान नै थालेपछि कांग्रेस र एमालेले संविधान संसोधनका नाममा गठबन्धन सरकार बनाएका थिए । तर न उनीहरुले संविधान संसोधनको एजेण्डा अगाडी सार्न खोजेका छन्, न प्रचण्ड नेतृत्वको सरकार विस्थापन गर्नुपर्नाको कारण जनताका बीचमा प्रष्टाउन सकेका छन् ।
यस्तो बेला प्रमुख दलका शीर्ष नेताहरुका बीच सम्वाद समेत पातलो रहेका बेला आज भने भेट हुन लागेको हो । संक्रमणकालिन न्यायका विषयमा प्रमुख एजेण्डामा छलफल हुने भनिएपनि आजको बैठकमा राजावादीहरुको बढदो चलखेलका बारेमा पनि छलफल हुने बताईएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ चैत्र २०८१, ०८ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति भेट्न शितल निवास पुगे प्रचण्ड
माओवादीहरूमात्रै होइन, समाजवादी मोर्चालाई एउटै केन्द्रमा ल्याउने मेरो कोसिस छ : प्रचण्ड
भ्रष्टाचारमा लिप्त मान्छेलाई ऊर्जामन्त्री बनाइएको छ: प्रचण्ड
२०८४ सम्म जनताकै साथमा रहन्छु, प्रधानमन्त्री बन्दिनँ : प्रचण्ड
२०६४ कै जनलहर पार्टीमा भित्राउँदै माओवादी
अखिल क्रान्तिकारीका पक्षमा देखिएको लहर निकै उत्साहप्रद छ : प्रचण्ड