काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राजनीतिक दलहरुलाई राजसंस्थासहितको प्रजातन्त्रका लागि नवीन समझदारी गर्ने प्रस्ताव गरेका छन् । यदि राजसंस्था पुनर्स्थापनको आवाजलाई दबाउन खोजेमा नसोचेको परिस्थिति उत्पन्न हुने उनले चेतावनी दिए ।
यो देशको भविष्य र अहिलेको दुरावस्थालाई हेरेर देशलाई नवीन समझदारीमा लैजानै पर्ने मिश्रको तर्क छ । उनी भन्छन्, ‘यो देशको भविष्य संकटमा छ । यो देश संसारकै भ्रष्टमा गनिएको छ, भने युवाहरूमा देशमा भविष्य नदेखेर विदेश उडिरहेका छन् । देशमा एउटा एकताको प्रतीक, अस्मिताको प्रतीक र सार्वभौमसत्ता, न्यायको प्रतिकका रूपमा राजनीतिभन्दा माथि राजसंस्था आवश्यक छ । त्यसैले म आह्वान गर्छु कि तपाईँहरू सबै जना सामाजिक सञ्जाल वा टिभी मात्रै हेरेर बस्ने होइन कि आफैँ सडकमा आउनुस् ।’
देश विभिन्न सहरहरूमा अहिले स्वतःस्फूर्त रूपमा जनता सडकमा उत्रिएको मिश्रले बताए । तर, ठूला पार्टीका ठूला नेताहरूले अझै पनि खिज्याउने गरेको उनको गुनासो छ ।
‘सरकारले दमन गर्न खोजिरहेको छ । उहाँहरूलाई निवेदन गर्न चाहन्छु, हालै सिरिया, श्रीलंका, बंगलादेशमा के भयो ? शासकले जनताको आवाजलाई दमन गर्न खोज्दा, केही होइन भन्दा आफैँ भाग्नुपर्ने अवस्था आयो कि आएन ? ठूलो जनधनको क्षति भयो । त्यसैले यस्तो आवाजलाई न्यूनीकरण नगरौँ ।’ विगतमा राजाहरूले सानो क्षति हुनासाथ छोडिदिएको मिश्रले स्मरण गरे ।
उनी भन्छन्, ‘दलहरूले इच्छा गरेको भरमा राजा वीरेन्द्रले व्यवस्था नै त्यागे । ज्ञानेन्द्रले गद्दी छोड्नुपर्यो । बढी क्षति नहोस्, आन्दोलन नियन्त्रणबाहिर नजाओस्, हिंसातिर नमोडियोस् भनेर उहाँहरूले चाँडो निर्णय लिनुभएको हो । अहिले जनताले राजसंस्थासहितको संवैधानिक प्रजातान्त्रिक चाहेका छन् भन्ने कुरा मनन गरेर शान्तिपूर्णरुपमा सङ्क्रमणलाई अगाडि बढाउन नवीन समझदारीमा जाऊँ । राजसंस्थाको पनि, दलहरूको पनि र राजसंस्थाविरुद्ध युद्ध गरेको माओवादी पनि अटाउने गरेर उहाँहरूले नै अग्रसरता लिने कामना म गर्छु । उहाँहरूले त्यो गर्नुभएन र दबाउने वा न्यूनीकरण गरिराख्नुभयो भने कुनै बेला विस्फोट भएर श्रीलंका, बंगलादेश र सिरियाको रूप धारण गर्न सक्छ, जुन अहिलेको ठूला नेता, पार्टी देश, जनता कसैका लागि अनुकूल र हितकर हुँदैन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ फागुन २०८१, १३ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवीन्द्र मिश्र र माओवादी अध्यक्ष प्रचण्डबिच भेट