हितेन्द्रको प्रतिक्रिया– मलाई सरकारले न्याय गर्‍यो, लोडसेडिङ हुँदैन

सफल खबर संवाददाता

मंगलबार, १२ चैत्र २०८१, ११ : ५६
हितेन्द्रको प्रतिक्रिया– मलाई सरकारले न्याय गर्‍यो, लोडसेडिङ हुँदैन

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले आफूलाई न्याय गरेको बताएका छन् । सोमबार मन्त्रिपरिषद्‍बाट कार्यकारी निर्देशक नियुक्त भएसँगै मंगलबार रातोपाटीसँग कुराकानी गर्दै शाक्यले सरकारले आफूलाई पुरानो योजना पूरा गर्ने अवसर दिएको बताए ।

आफूले यसअघि प्राधिकरणको कार्यकारी निर्देशक भएर पनि काम गर्न नपाएको उल्लेख गर्दै उनले अब ती योजनाहरू पूरा गर्नतर्फ लाग्ने समेत बताए ।

उनले आफूले साढे ३ वर्ष काम गर्न पाएको भए अहिलेको समस्या नै नआउने जिकिर गरे ।  ‘मैले चार वर्षका लागि नियुक्ति पाएको थिएँ । तर उहाँ (कुलमान) ले उधारोको समय पाउनुभयो । तर, साढे ३ वर्ष काम गर्न पाइनँ । अदालतले पनि समयमै निर्णय नगरिदिँदा मेरो यो अवधिको योजना बनाउन सकिएन,’ शाक्यले भने, ‘सरकारले त्यति समय काम गर्न दियो भने न्याय हुन्छ भन्ने लागेको थियो सरकारले त्यही अनुसारले गरेको हुन सक्छ ।

यद्यपि आफूले नियुक्तिको पत्र भने पाइनसकेको उनको भनाइ थियो । शाक्यले घरायसी ग्राहकलाई लोडसेडिङ नहुने समेत प्रस्ट पारेका छन् । बरु उद्योगमा भइहरेको लोडसेडिङको समयलाई न्यूनीकरण गर्ने आफ्नो प्रयास रहने उनको भनाइ थियो ।

‘लोडसेडिङ भन्ने कुरा कोही भएर हुने, कोही नहुने भन्ने हुँदैन । लोडसेडिङ भनेको बिजुली नपुगेपछि हुने हो । पर्याप्त बिजुली भयो भने लोडसेडिङ पनि नहुने हो । अहिले पनि उता (भारत)को बिजुली यता दिएर व्यवस्थापन गरिएको हो । अहिले पनि लोडसेडिङ हटेको होइन, उद्योगमा लोडसेडिङ छँदैछ,’ उनले भने, ‘घरघरमा लोडसेडिङ हुने सवालै छैन । उद्योगमा जसरी लोडसेडिङ भइरहेको छ, त्यसलाई हटाउने चाहिँ सूत्र मैले फलोअप गरिरहेको छु ।

उनको भनाइमा औद्योगिक लोडसेडिङको समस्या पनि एक/डेढ महिना मात्रै रहन्छ । यो अवधिको लागि उद्योगमा लोडसेडिङ शून्य बनाउन नसके पनि घटाउन भने सकिने उनको भनाइ छ । ‘लोडसेडिङलाई शून्य त बनाउन नसकिएला तर अहिले भन्दा सकेसम्म हटाउनुपर्छ’, उनले भने । अहिलेको अवस्थामा २÷४ पैसा सस्तो खोज्ने भन्दा पनि २/४ पैसा महँगो नै तिरेर भए पनि लोडसेडिङ हुने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘अबको मेरो प्रयास त्यतैतिर हुनेछ ।’

प्रतिक्रिया दिनुहोस