जनकपुर टुडेका प्रधान सम्पादक यादवसहित ३ जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर

सफल खबर संवाददाता

मंगलबार, १२ चैत्र २०८१, १६ : ३८
जनकपुर टुडेका प्रधान सम्पादक यादवसहित ३ जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर टुडेका अध्यक्ष एवम प्रधान सम्पादक वृजकुमार यादवसहित ३ जनाविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा अदालतमा मुद्दा दायर गरेको छ ।

धनुषाको बटेश्वर गाउँपालिका अन्तर्गतका वडामा स्वास्थ्य चौकी भवन र डिप बोरिङ तथा डिप बोरिङ हाउस निर्माण कार्यमा अनियमितता गरेको भन्दै प्रधान सम्पादक यादवसहित गाउँपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरी र गाउँपालिकामा लेखा हेर्ने छैठौ तहका अधिकृत सुमनकुमार पुरी बिरुद्ध भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अनुसन्धानका क्रममा सार्वजनिक खरिद ऐन बमोजिम राष्ट्रिय स्तरको दैनिक पत्रिकामा बोलपत्र आव्हानको सूचना प्रकाशन गर्नुपर्नेमा पालिकाका २ जना कर्मचारी र जनकपुर टुडेका प्रधान सम्पादक एवम अध्यक्ष यादवसँगको मिलोमतोमा उक्त बोलपत्र आह्वानको सूचना लुकाई छुपाई एक प्रतिमात्र आह्वान गरेको पाइएको आयोगका सहसचिव एवम प्रवक्ता राजेन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार २०७६ चैत ३ मा एक प्रतिमात्र बोलपत्र स्वीकृतको सूचना प्रकाशित गरी गाउँपालिकामा पेश गरेर झुट्टा विवरण सहितको पत्रिकाको आधारमा ६ लाख ४४ हजार १०० रुपैयाँ जनकपुर टुडेलाई भुक्तानी दिएको पुष्टि भएको छ ।

त्यसैले तत्कालिन प्रमुख प्रशासकीय अधिकृत चौधरी र पुरीलाई ६ लाख ४४ हजार १०० रुपैयाँ बिगो कायम गर्दै कैद र बिगो बमोजिमको जरिवाना सजाय गरी बिगो असूल उपर गर्न माग गरिएको छ ।

साथै जनकपुर टुडेका अध्यक्ष तथा प्रधान सम्पादक यादवले कर्मचारीसँगको मिलोमतोमा बोलपत्र आव्हानको सूचना र बोलपत्र स्वीकृतको सूचना छपाई गर्ने जिम्मा लिएको देखाई नियमानुसार सूचना सार्वजनिक प्रकाशन नगरेर लुकाई छिपाई गाउँपालिकाको ठेक्काको अभिलेखमा राख्ने गरी झुट्टा विवरण सहितको पत्रिकाको आधारमा ६ लाख ४४ हार १०० रकम भुक्तानी लिएको पुष्टि भएको छ ।

त्यसैले उक्त पत्रिकाका अध्यक्ष एवम प्रधान सम्पादक यादवलाई कसुरजन्य कार्यको नगद तथा गैरकानूनी लाभ प्राप्त गर्ने प्रकृतिको मतियार भई काम गरेकाले कर्मचारी कसूरदार सरह नै सजाय गरी बिगो असुल उपर माग गरिएको छ । यादव विविसी नेपाली सेवाका संवाददाता पनि हुन् ।

प्रतिक्रिया दिनुहोस