काठमाडौं । राप्रपाले आज काठमाण्डौंमा जनप्रदर्शन गर्ने भएको छ । गत फागुन ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे मागपत्र बुझाएर आन्दोलनमा होमिएको राप्रपाले आफ्नो माग पूरा दबाब सिर्जना गर्न काठमाडौंमा वृहत जनप्रदर्शन गर्ने भएको हो ।
आजको जनप्रदर्शनमा काठमाण्डौंका दर्जनौं स्थानबाट जुलुस निस्कने, ललितपूर, भक्तपुर र आसपासका जिल्लाबाट ऱ्याली सहितको सहभागीता रहने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताएका छन् । प्रदर्शनका सहभागीहरु भृकुटीमण्डपमा भेला हुने, शहरका विभिन्न ठाऊॅ परिक्रमा गर्ने र सभा गर्ने राप्रपाले जनाएको छ। सभालाई अध्यक्ष राजेन्द्र लिङ्देन र नेताहरुले सम्बोधन गर्नेछन् ।
देशभर साना ठूला सभा गर्दै आफ्नो मागका पक्षमा जनमत सिर्जना गरेको राप्रपाले आज काठमाडौं केन्द्रीत प्रदर्शन विशेष हुने दाबी गरेको छ। जनप्रदर्शनलाई भव्य बनाउँदै सरकारलाई दबाब महसुस गराउने तयारी गरेको राप्रपाले काठमाडौं उपत्यकाका हरेक पालिकामा कमाण्डर तोकेको थियो । ति कमाण्डरले पनि वडा कमाण्डर तोकेर आन्दोलनलाई प्रचारात्मक बनाउॅदै जनपरिचालन गरेको छ। पालिका कमाण्डरको नेतृत्वमा काठमाडौं उपत्यकाको दर्जनौँ स्थानबाट झाँकीसहितको ऱ्याली भृकुटीमण्डप पुग्ने प्रवक्ता श्रेष्ठले बताएका छन्। आजको प्रदर्शनको तयारीस्वरुप राप्रपाको पूर्वसैनिक संगठनले काठमाण्डौंमा मार्चपास गरेको थियो ।
हिजो सोमबार पनि राप्रपाको नेपाल सनातन धर्म संस्कृति संगठनले गणतन्त्रको विरोधमा शंखध्वनि बजाउदै प्रतिकात्मक पुत्ला विसर्जन गरेको छ। पार्टीका अन्य भातृ संगठनहरुले सोमबार नै देशका विभिन्न ठाऊॅमा मोटरसाइकल ऱ्याली र मसाल जुलुस निकालेको छ ।
मंगलबार हुने वृहद जनप्रदर्शमा देशैभरिबाट पार्टीका कार्यकर्ताहरु, शुभेच्छुक शुभचिन्तकहरुको सहभागिता हुने राप्रपाका प्रवक्ता श्रेष्ठले बताए। प्रदर्शनमा सहभागी हुन ठूलो संख्या काठमाण्डौं आइसकेको, आउने क्रम जारी रहेको र दिउॅसोसम्म नै यो क्रम जारी रहने उनले बताए ।
राप्रपाले सरकारसमक्ष पेश गरेको ४० बँदे मागमा अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था हुनुपर्ने, सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दू अधिराज्य घोषणा गर्नुपर्ने, संगठित, योजनाबद्ध, प्रलोभन तथा छलकपटपूर्ण धर्मान्तरणमा तत्काल रोक्नु्पर्ने, प्रदेश संरचनाको खारेजी र दुई तहको सरकार– केन्द्र र अधिकारप्राप्त स्थानीय तह बनाउनुपर्ने, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री रहने शासकीय व्यवस्था गर्नुपर्ने, कार्यकारी पदहरुमा एक व्यक्ति दुई कार्यकालभन्दा बढी बस्न नपाउने संवैधानिक, कानुनी सुनिश्चितता गर्नुपर्ने लगायत उल्लेख छ ।
राप्रपाले राष्ट्रियता, विकास, सुशासन् सेवाप्रवाह र जनजीविकाका कैयन मागहरु आफ्नो ४० बॅुदामा समेटेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ चैत्र २०८०, ०७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाले बोलायो केन्द्रीय समिति बैठक, के छन् एजेण्डा ?
पृथ्वी जयन्तीको अवसरमा राप्रपाको चियापान समारोह (तस्बिरमा )
राप्रपाको चियापानमा राज्यका सबै अंगका प्रमुखलाई निम्तो
राप्रपाले पुष २७ गते दरबारदेखि सिंहदरबारसम्म राष्ट्रिय एकता ऱ्याली गर्ने
उपनिर्वाचनको नतिजाबारे अध्ययन गर्न राप्रपाले बनायो समिति
राप्रपा केन्द्रीय कार्यसम्पादन बैठक आज पनि बस्दै