संवैधानिक परिषद्को बैठक स्थगित

सफल खबर संवाददाता

सोमबार, १२ चैत्र २०८०, १२ : १८
संवैधानिक परिषद्को बैठक स्थगित

काठमाडौँ । संवैधानिक परिषद् अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजका लागि बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।  सोमबार बिहान ९ बजेका लागि बोलाएको परिषद् बैठक स्थगित भएको जानकारी राति मात्र आएको एक सदस्यले जानकारी दिए । 

बैठक स्थगित हुनुको कारण भने खुलाइएको छैन । ‘आज सोमबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको थियो । तर राति फेरि स्थगित भएको सूचना आएको छ । कारण खुलाइएको छैन’,ती सदस्यको भनाइ छ । उनका अनुसार चैत १८ गते ११ बजे बस्ने गरी बैठक स्थगित गरिएको छ । 

बैठकले महालेखा परीक्षक नियुक्त गर्न सिफारिस गर्ने बुझिएको छ । महालेखा परीक्षक पद लामो समयदेखि रिक्त छ । गत जेठमा टंकमणी शर्मा दंगालको कार्यविधि सकिएपछि उक्त पद रिक्त रहेको हो । संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरू संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्ति गर्ने व्यवस्था छ ।  

परिषद् सदस्य रहने सभामुख स्विजरल्याण्ड भ्रमणमा रहेकाले बैठक स्थगित भएको हुनसक्ने बुझिएको छ । प्रधानमन्त्री परिषद्को अध्यक्ष रहने व्यवस्था छ भने प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ । राष्ट्रियसभाका अध्यक्ष पनि चितवनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस