सुर्खेत । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिलाको शैक्षिक,आर्थिक सशक्तीकरणका साथै समग्रमा समाजको सांस्कृतिक रूपान्तरणका लागि अझै सङ्घर्ष जारी राख्नुपर्ने बताएकी छन् । पुरातनवादी सोचका कारण महिलाहरू अझै पनि सामाजिक,आर्थिक, सांस्कृतिक, राजनीतिक हिसाबले पछि परिरहेको बताउँदै भण्डारीले त्यसका विरुद्धमा निरन्तर सङ्घर्ष गरिराख्नुपर्ने बताएकी हुन् ।
११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस सन् २०२४ को अवसरमा सोमबार वीरेन्द्रनगरमा आयोजित प्रथम कर्णाली प्रदेशस्तरीय महिला सम्मेलनमा बोल्दै भण्डारीले भनिन्, ‘महिलाको क्षेत्रमा विभिन्न नीतिगत एवम् कार्यक्रमहरू भए पनि समाजमा विद्यमान पुरातनवादी सोचका कारण हरेक हिसाबले महिलाहरू अझै पछि छन् ।’
यद्यपि नेपालले महिला अधिकार र महिला सशक्तीकरणको क्षेत्रमा उल्लेख्य सुधार भने भएको उनको भनाइ थियो । महिला अधिकारका लागि भएका विभिन्न आन्दोलन र सङ्घर्षका कारण महिलाका क्षेत्रमा महत्त्वपूर्ण काम भएको उनले बताइन् ।
‘संविधानमै महिलाको ३३ प्रतिशत संसद्मा प्रतिनिधित्व सुनिश्चित गरिएको छ, प्रदेशदेखि स्थानीय तहमा पनि महिलाको भूमिका निकै महत्त्वपूर्ण हुँदै गइरहेको छ,’ भण्डारीले भनिन्, ‘महिला सशक्तीकरण र लैङ्गिक समानताको क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिहरू विश्व महिला आन्दोलनका लागि उदाहरणीय बनेका छन् ।’
प्राप्त उपलब्धिको रक्षा गर्दै महिला सशक्तीकरणको अभियानलाई जारी राख्नुपर्ने उनको भनाइ छ । लैङ्गिक समानता महिला र पुरुष दुवैको साझा कुरा हो, यो विषयमा सधैँ जोड दिँदै आएको पनि उनले बताइन् । साथै महिलाको सीप, क्षमतालाई मुलुकको विकास प्रक्रियामा सदुपयोग गरी स्रोत, साधन र अवसरमा समान पहुँचको माध्यमबाट संविधानले परिलक्षित गरेको लैङ्गिक समानताको उद्देश्य हासिल गर्न सकिने पनि उनको भनाइ छ ।
भण्डारीले कर्णाली भौतिक पूर्वाधारको विकासमा पछि परे पनि भौगोलिक विविधता, प्राकृतिक स्रोत, साधनले सम्पन्न रहेको बताएकी थिइन् । यहाँ रारा, से–फोक्सुन्डो, सिञ्जा, रास्कोट, पञ्चदेवल, पचालझराना कर्णालीको मात्र नभई सिङ्गो देशका अमूल्य सम्पदा भएको बताउँदै भण्डारीले भनिन्, ‘यिनको पर्यटन प्रवर्धन गर्दा कर्णाली समुन्नत प्रदेश बन्न सक्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ फागुन २०८०, १५ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
नेपालले आफ्नो दिगो विकासका लक्ष्यहरु निर्धारण गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
भानुभक्तद्वारा भाषा र साहित्यका माध्यमबाट राष्ट्रिय एकता प्रवर्द्धन: पूर्वराष्ट्रपति भण्डारी
तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ : पूर्वराष्ट्रपति भण्डारी
केपी ओली समकालीन राजनीतिका सर्वाधिक प्रतिभाशाली नेता: विद्या भण्डारी