काठमाडौं। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कारागार कार्यालय नख्खुमा निर्मित विपश्यना केन्द्र 'धम्मासय'को उद्घाटन गरेका छन् ।कारागार कार्यालय नख्खु र नेपाल विपश्यना केन्द्र धर्मश्रृङ्ग काठमाडौंद्वारा आयोजित कार्यक्रममार्फत् ४८ कैदी बन्दीहरूका लागि १२ दिनसम्म ध्यान शिविर संचालन हुनेछ।
यससँगै नेपाल विपश्यना केन्द्रले देशभरि १९ वटा ध्यान केन्द्र निर्माण गरेको छ । नख्खु कारागार ध्यान केन्द्र तीन महिनाको तयारीपछि संचालनमा आएको हो।ध्यान केन्द्रको उद्घाटन गर्दै उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले कानूनी र प्रशासनिक तवरबाट मात्रै नभएर आफ्नै महत्वबोध गराउने ध्यानबाट समेत सुशासन तथा सुधार अगाडि बढाउन सकिने बताए ।
आफूलाई फेर्ने, स्वजागृत हुने र समाज रुपान्तरण गर्ने चिन्तन ध्यानबाटै प्राप्त हुने उनले बताए ।अग्रज रुपचन्द्र विष्टले आफूसँगको कुराकानीमा 'मानिसहरू सिद्धार्थ गौतम नबनी एकैचोटी बुद्ध बन्न खोजेको' बताएको स्मरण गर्दै उपप्रधानमन्त्री श्रेष्ठले आफूलाई बदलेर मात्रै बुद्ध बन्न सकिने बताए ।
कानून लागू गर्ने वा सेवा दिने मान्छे स्वयंमा असल हुनुपर्ने र ध्यानले मानिसलाई असल बन्न मद्दत गर्ने भएकोले आफूले गृह मन्त्रालय र अन्तर्गतका निकायमा ध्यान संस्कृति निर्माण गर्ने प्रयास गरेको उनले बताए ।
कैदी बन्दीहरूलाई सम्बोधन गर्दै उनले भने 'एकपटक गल्ती गर्नुभयो, अपराध गर्नुभयो। ध्यानले अब म असल बन्छु, फेरिन्छु, बदलिन्छु भन्ने सोच तपाईंहरू आउनेछ', उनले भने ।कार्यक्रममा विपश्यना ध्यान केन्द्रका क्षेत्रीय आचार्य डा. रुप ज्योतिले मन शुद्ध भएमात्रै शरीर स्वस्थ हुने र विपश्यनाले मनलाई शुद्ध बनाउने बताए ।
केन्द्रले १६ देशका कारागारहरूमा शिविर सञ्चालन गरिसकेको र उपप्रधानमन्त्री श्रेष्ठले ध्यानको महत्त्व बुझ्नुभएकैले नख्खु कारागारमा समेत केन्द्र र शिविर संचालन हुनसकेको बताए ।
गृह मन्त्रालयका सचिव दिनेश भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, कारागार व्यवस्था विभागका महानिर्देशक काशीराज दाहाल, सशस्त्र प्रहरीका एआईजी नारायणदत्त पौडेल, विपश्यना ध्यान केन्द्रका आचार्यहरू तथा काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको समेत उपस्थिति थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ फागुन २०८०, १६ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीमा शुरू भयो तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन, गृहमन्त्री श्रेष्ठले गरे उद्घाटन
प्रदेश प्रहरी समायोजन विधेयक छिट्टै संसद्मा पेश गर्ने मन्त्री श्रेष्ठको प्रतिबद्धता
भुटानी शरणार्थी प्रकरणमा थप प्रमाण आएन : गृहमन्त्री श्रेष्ठ
केही दिनभित्र प्रहरी समायोजन समितिको घोषणा गर्दैछौँ : गृहमन्त्री श्रेष्ठ
प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर काम गर्न मधेशका सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन
नेता, कर्मचारी र व्यापारीले राज्यलाई लुटेर पहुँचको आधारमा उम्कन दबाब दिन्छन् : गृहमन्त्री श्रेष्ठ