दक्षिण एसियामा अन्य देशको तुलनामा नेपाली ‘मिडिया’ स्वतन्त्र छन् : जबरा

सफल खबर संवाददाता

शनिबार, ३० चैत्र २०८१, १५ : २७
दक्षिण एसियामा अन्य देशको तुलनामा नेपाली ‘मिडिया’ स्वतन्त्र छन् : जबरा

पाटन । नेपाली कांग्रेस केन्द्रीय सदस्य उदयशम्शेर जबराले अन्य दक्षिण एशियाली देशका तुलनामा नेपाली ‘मिडिया’ स्वतन्त्र, निष्पक्ष र प्रभावकारी रहेको बताएका छन् ।

नेपाल पत्रकार मञ्चको आज ललितपुरमा आयोजित सातौँ महाधिवेशनको उद्घाटन गर्दै  प्रतिनिधिसभा सदस्यसमेत रहेका उनले नेपाली मिडिया समाजका पहरेदारका रुपमा क्रियाशील रहेकामा त्यसको सराहना गरे ।

नेपाल पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहालले पत्रकारको हकहितका लागि पत्रकार महासङ्घ सधैँ क्रियाशील रहने प्रतिबद्धता व्यक्त  गरे । सार्वजनिक प्रसारण सेवा नेपाल टेलिभिजनका नायव महाप्रबन्धक आरती चटौतले पत्रकारिता जोखिमपूर्ण पेसा भएको बताउँदै राज्यले पत्रकारिताको संवेदनशीलतालाई ध्यान दिनुपर्नेमा जोड दिइन् ।

मञ्चका अध्यक्ष युवराज विद्रोहीले कुनै पनि राजनीतिक दलमा पत्रकार लाग्न नहुनेमा जोड दिए । त्यस अवसरमा क्रियाशील पत्रकारिता पुरस्कार नायब महाप्रबन्धक चटौत र प्रताप स्मृति पत्रकारिता पुरस्कार अन्नपूर्ण पोष्ट दैनिकका रामकला खड्कालाई प्रदान गरिएको थियो ।

गौरीनारायण श्रेष्ठ मध्याह्न पुरस्कार चन्द्र सूर्यवाणी डटकमका सम्पादक सन्तोष मिश्रलाई, नाजीर उद्दीप स्मृति पत्रकारिता पुरस्कार चेतनराज सापकोटा, डा.चुडाबहादुर श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार फोटोपत्रकार घनश्याम श्रेष्ठ र बल्लभ भण्डारी स्मृति पत्रकारिता पुरस्कार टेलिभिजन पत्रकार टङ्ककला तिमल्सिनालाई प्रदान गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस