सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा फोहोरबाट ग्यास र जैविक मल उत्पादन गर्न सुरुआत भएको छ । व्यक्तिगत लगानीमा कर्णालीमै पहिलो पटक वीरेन्द्रनगर–११ को सिमलकुनामा फोहोरबाट ग्यास र जैविक उत्पादन गर्न थालिएको हो ।
वीरेन्द्रनगर–११ का युवा कृष्णप्रसाद ढकालले दुई बिघा जग्गा २० वर्षको लागि भाडामा लिएर फोहोरलाई मोहरका रुपमा रुपान्तरण गर्न सुरु गरेका हुन् । नगरपालिकाभित्रको सबै फोहरलाई संकलन गरी ग्यास र जैविक मल उत्पादनको लागि प्रयोग गर्ने गरिएको उनले जानकारी दिए ।
१४ करोड रुपैयाँ लगानीमा जर्मन प्रविधिमा ग्यास प्लान्ट स्थापना गरी ग्यास र जैविक मल उत्पादन सुरु गरिएको ढकालको भनाइ छ । सो रकममध्ये पाँच करोड विश्व बैंकको सहयोग छ । अहिले तरकारी पसलबाट निस्कने फोहोर संकलन गर्ने गरिएको जनाउँदै ढकालले अब प्रत्येक घरघरबाट निस्कने फोहोर संकलन गरी प्रयोग गरिने योजना रहेको जानकारी दिए । “हामीले नगरपालिकासँग सहयोगको लागि आग्रह गर्यौं । तर सहयोग पाएनौँ, अनि आफ्नै ट्याक्टर किनेर फोहोर संकलन गरेर ल्याइरहेका छौँ”, उनले भने, “अब प्रत्येक घरबाट निस्कने फोहोर संकलन गरी ग्यास र जैविक मल उत्पादन बढाउँदै छौँ ।”
ग्यास उद्योग प्लान्टबाट अहिले दैनिक सात सय २० क्विन्टल ग्यास र नौ टन जैविक मल उत्पादन भइरहेको छ । उत्पादित ग्यास खाना पकाउनेसहित सवारी साधन सञ्चालनको लागि पनि प्रयोग गर्न सकिने भएकाले पेट्रोलियम पदार्थको खपतसमेत घट्ने सञ्चालक ढकालको भनाइ छ । गत जेठबाट ग्यास र जैविक मल उत्पादन सुरु भएको जनाइएको छ ।
उनले भने, “यो ग्यास उत्पादनले सरकारलाई सहयोग पुग्नेछ । पहिलो कुरा रासायनिक मलको प्रयोगलाई घटाउने र त्यसमा दिने अनुदान हामीले उत्पादन गर्ने जैविक मलमा दिनुपर्छ, जसले गर्दा एकातिर अर्गानिक उत्पादन पनि बढ्छ भने अर्कोतर्फ हामीले फोहरबाट ग्यास पनि उत्पादन गरिरहेका छौँ,” उनले भने, “यो ग्यासले खाना पकाउने मात्रै नभई सवारी साधन चलाउन पनि हुने भएकाले राज्यको वार्षिक १८ करोड रकम जोगिन्छ ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ पुस २०८०, ०८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानमा भेटियो तेल र ग्यासको विशाल भन्डार
वीरगञ्ज नाकाबाट हुने हवाई इन्धन र ग्यासको आयात घट्यो
भारतीय सहयोगमा मटिहानीका २ हजार गृहिणीले पाए ग्यास चुल्हो
कतारले गर्यो प्रतिबर्ष १४२ मिलियन टन ग्याँस उत्पादन गर्ने घोषणा