काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको विवाद मिलाउन पाँच जना पदाधिकारीले पहलकदमी थालेका छन् । गैरआवासीय नेपालीहरुको हक हित र संरक्षण साथै सम्मृद्ध नेपालको साझा सपनाको लागि एनआरएनए एकजुट हुनुको विकल्प नभएको भन्दै उपाध्यक्षद्वय राजु रेग्मी (रेग्मी), डा केशव पौडेल, महिला उपाध्यक्ष रोजिना प्रधान राई, उपमहासचिव सोम सापकोटा र सहकोषाध्यक्ष तिलक गैरेले विवाद मिलाउन संयुक्तरुपमा आह्वान गरेका हुन् । उनीहरुले बुधबार जारी गरेको एक सार्वजनिक आह्वानमा दुबै पक्षलाई बार्तामा ल्याउने र निर्वाचनमा देखिएका त्रुटि र आशंकाको निराकरणका लागि सर्वपक्षीय सहमति तथा परराष्ट्र मन्त्रालयको सुपरिवेक्षणमा विशेष छानबिन समिति गठन गर्न माग गरिएको छ । उक्त समिति मार्फत आएको सत्य तथ्य पश्चात एकताको सन्देश सहित एक साझा संस्थाको रुपमा अगाडि बढिनुपर्ने उनीहरुको धारणा छ ।
‘हामी सवैको प्रयामा यो कठिन अवस्थालाई सामान्य अवस्थामा आए पश्चात एकताको सन्देश सहित आधिकारिक छानविन समितिको निर्णयलाई सर्वोपरि मान्य हुने गरी सवैले यस आह्वानलाई पूर्ण सहयोग गर्नुहुने छ भन्ने निवेदन गर्न चाहान्छौं’, पाँच पदाधिकारीले भनेका छन् । संघको ११ औं अन्तर्राष्ट्रिय महाधिवेशनको मतदान विश्वका ५९ देशबाट सौहार्दपूर्ण वातावरणमा सम्पन्न भए पश्चात निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचनको नतिजामा केही उम्मेदबारहरुको मतपरिमाण र नतिजा प्रकाशनमा त्रुटि देखिएपछि सवैमा एक प्रकारको आशंका र केही फरक दृष्टिकोणहरु आएको सार्वजनिक आह्वानमा उल्लेख छ ।
संस्था रुपान्तरण र आम सहभागिताको पहिलो प्रयासमा अनलाइन र प्रत्यक्ष रुपमा भएको निर्वाचनमा पूर्णरुपमा विश्वसनीयता नदेखिनु पक्कै पनि राम्रो पक्ष नभएको उनीहरुको भनाइ छ । ‘निर्वाचन पश्चातको नतिजा र निर्वाचन आयोगले गरेको प्रारम्भिक घोषणामा देखिएका त्रुटि र त्यस पश्चात् उत्पन्न आशंका र विवादपछि उक्त निर्वाचन परिणामलाई निर्वाचनमा सहभागी उम्मेदबारहरुबाट नै निर्वाचन वैधताको प्रश्न उठाई असहमति जनाईरहेको अवस्थामा एक पक्षबाट शपथ ग्रहण गरिसकेको र असहमत पक्षबाट अर्को समानान्तर कमिटी गठन प्रक्रिया अगाडि बढ़ाइरहेको यो असहज परिस्थितिले एनआरएनलाई एकताबद्ध गर्नु भन्दापनि थप बिभाजनतर्फ अगाडि बढ़ाईरहेको परिस्थिति छ’, संयुक्त आह्वानमा भनिएको छ ।
यस कठिन अवस्थामा निर्वाचित भएर पनि शपथ लिन बाँकी पदाधिकारीको पहलमा यो अन्तरविवाद र अन्योलको अवस्थालाई निराकरण गरी सहकार्य र एकतामा जोड़ दिन यस्तो आह्वान गरिएको उपमहासचिव सोम सापकोटाले जानकारी दिए । ‘संघभित्र विसंगति र अनुशासनहीनता बढिरहेको सन्दर्भमा सबै समस्याको निराकरणका लागि परराष्ट्र मन्त्रालयको निगरानीमा विशेष छानबिन समिति बनाउँदै सत्यतथ्य पत्ता लगाएर साझा एनअराएनए बनाउन लाग्नुपर्छ’, सापकोटाले भने, ‘सबै विधिमा हिँड्ने वातावरण बनाउनुपर्छ ।’ उनले संस्था विश्वभरका साझा नेपालीहरुको भएकाले कमिटीमा भएका सीमित व्यक्तिहरुको अडानको भरमा चलाउन नमिल्ने पनि बताए । यसका लागि सबै पक्ष गम्भीर बन्दै वर्तमान समस्याको समाधानमा केन्द्रित हुनपर्ने उनको धारणा छ । निर्वाचनका क्रममा केही कमिकमजोरी भएको खण्डमा समाधान खोजिनुपर्नेमा जोड दिँदै उनले आफूहरुको भविभावकीय संस्था परराष्ट्र भएको र सो निकायसहित संघका पूर्वअध्यक्षहरुले पनि निकासका लागि पहलकदमी लिनुपर्ने उनको धारणा छ ।
सार्वजनिक आह्वानमा पनि समस्या समाधानको पक्षमा रही दुबै पक्षलाई बार्तामा ल्याउन, निर्वाचनमा देखिएका त्रुटि र आशंकाको निराकरणका लागि सर्वपक्षीय सहमतीमा विशेष छानबिन समिति गठन गर्ने प्रस्ताव गरिएको छ । निर्वाचित पाँच जना पदाधिकारी संस्थाभित्र प्रभावशाली मानिन्छन् भने उनीहरुको पहल कदमीले सकारात्मक नतिजा निस्कन सक्ने विश्वास गरिएको छ । आह्वान गर्नेमध्येका कतार निवासी राज रेग्मी र बेलायत निवासी रोजिना प्रधान राई एनआरएनएको भूकम्प पीडितलाई रातह वितरण कार्यक्रममा प्रभावित क्षेत्रसम्म पुगेका थिए ।
एनआरएनएको अक्टोबरमा सम्पन्न ११ औँ महाधिवेशनमा बद्री केसीले धाँधली गरेको आरोप लगाउँदै आरके शर्माको नेतृत्वमा असन्तुष्ट पक्षले अर्को कमिटी गठन गरेको छ । सो कमिटी घोषणापछि एनआरएनएभित्र विवादले चरम रुप लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ कार्तिक २०८०, १२ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अध्यादेशमा ‘आफ्नै नागरिकलाई भिसा दिनेʼ व्यवस्था गरेको भन्दै एनआरएनएको विरोध
एनआरएनएको एकता भाँड्न जापान पुगे बद्री केसी
एनआरएनए मलेसियाले खेलाडी परिवारलाई सहयोग गर्ने
बाढी पीडितका लागि ५ लाख रुपैयाँ दिने एनआरएनए बेल्जियमको घोषणा
एनआरएनए यूकेले बाढी पिडितलाई १५ लाख रुपैया सहयोग गर्ने
एनआरएनएद्वारा बाढीपहिरो पीडितलाई १ करोड सहयोगको घोषणा