सुशासन स्थापित गर्न नसके राजनीतिक संकटको सामना गर्नुपर्ने अवस्था आउँछ : गृहमन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

विहीबार, २५ असोज २०८०, १३ : २४
सुशासन स्थापित गर्न नसके राजनीतिक संकटको सामना गर्नुपर्ने अवस्था आउँछ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले दण्डहीनता र भ्रष्टाचारको अन्त्य गर्दै सुशासन स्थापित गर्न नसके राजनीतिक संकटको अवस्था सृजना हुने बताएका छन् । देशलाई समृद्धिमा लैजानका लागि भ्रष्टाचार नियन्त्रण र सुशासन पूर्वशर्त रहेको उनले बताए ।

 

नेपाल पत्रकार महासंघले बिहीवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री श्रेष्ठले सुशासनको अभियान कमजोर पार्ने षड्यन्त्र भइरहेको भन्दै सचेत जगतले खबरदारी गर्नुपर्ने बताएका हुन् ।

‘भ्रष्टाचारको नियन्त्रण र दण्डहीनताको अन्त्यविना देशको आर्थिक समृद्धि फड्को मार्न सक्दैन । सुशासनको कार्यलाई जनता र नागरिक समाजले समर्थन गर्दै आइरहेको छ। सुशासनको अभियान कमजोर पार्न त्यतिकै प्रयत्न भइरहेको छ,’ मन्त्री श्रेष्ठले भने, ‘नेपालमा सुशासन तीब्र बनाउन नसके निकै ठूलो संकटको सामना गर्नुपर्नेछ । राजनीतिक रुपमा संकटको सामना गरेका हुनेछौं ।’

 

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका मन्त्री श्रेष्ठले पहिलो आत्मालोचना राजनीतिक दल र नेताले गर्नुपर्ने बताए । ‘आम जनताको चाहना राजनीतिक दलहरू सच्चिउन भन्ने छ, त्यसका लागि पहिलो आत्मालोचना नेता र पार्टीले गर्नैपर्छ’ श्रेष्ठले भने ।गृहमन्त्री श्रेष्ठले सामाजिक सद्‌भाव र एकता बढाउने ढंगले कलम चलाउन पत्रकारहरूसँग आग्रह गरे।

प्रतिक्रिया दिनुहोस